हिटर वा आगो बालेर नसुत्नुहाेस्, ज्यान जान सक्छ

गोरखापत्र

काठमाडौँ

यलु जोशी
जाडो बढेसँगै शरीर र कोठा न्यानो बनाउन आगो तथा हिटर बाल्ने क्रम बढेको छ । हिमालदेखि तराईसम्म बढेको चिसोबाट बच्नका लागि अपनाइने यस्ता उपायले ज्यानै जाने खतरा पनि त्यतिकै रहन्छ । त्यसैले चिकित्सकहरूले कोठा तातो बनाउँदा शरीर नै सदाका लागि चिसो नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले जाडो महिनामा हावाको आदानप्रदान कम हुने घर वा कोठा तताउँदा ध्यान नपुग्दा ज्यानै जाने गरेको बताउनुभयो । उहाँले कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानि गर्ने जानकारी दिनुभयो ।
डा. कोइरालाका अनुसार कार्बन मोनोअक्साइड विषाक्त रासायनिक ग्यास भएकाले आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ । अक्सिजन कम हुने बित्तिकै कार्बनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ ।
यो ग्याँस हावाभन्दा तीन गुणा हलुको हुन्छ । यसको मुख्य स्रोतहरूमा दाउराको आगो, गाडीको इन्जिन, ग्यास, तेल, कोइला, पेट्रोल, स्टोभ आदि हुन् ।
डा.विकास खड्का भन्नुहुन्छ, ‘‘कोठालाई न्यानो बनाउन हिटर, कोइलाजस्ता सामान बालेर सुत्नु नै ज्यान जानुको प्रमुख कारण हो ।’’ विशेष गरी जाडोयाममा राति सुतेको मान्छे बिहान मृत अवस्थामा रहेका धेरै घटना बाहिर आएका छन् । यस्ता गतिविधिले कोठामा अक्सिजनको कमी भई मानिसको निसासिएर मृत्यु हुने डा.खड्काको भनाइ छ ।

प्रकाशित मिति: : 2020-12-23 16:07:00

प्रतिकृया दिनुहोस्