जागरण अभियान चलाएर पनि निन्द्रामै काँग्रेस : जोश न जाँगर

पहिलोपोष्ट

काठमाडौँ

नेत्र तामाङ

कोभिड-१९ महामारी नआएको भए सायद नेपाली काँग्रेस यतिबेला महाधिवेशनको रन्कोमा हुने थियो। प्रदेश अधिवेशन पुस १५ गतेका लागि तोकिएको थियो। यसैको लागि दौडधुपमा लागेको हुन्थे काँग्रेसका नेताहरु।

गएको वर्षको माघ १३ गते केन्द्रीय समितिले केन्द्रीय महाधिवेशनको मिति तोकेको थियो - फागुन ७ गतेका लागि। त्यसपछि पनि महाधिवेशनको मिति फेरबदल भयो। पुस ११ गते तोकिएको मितिमा केन्द्रीय महाधिवेशनको मिति यथावत थियो - बाँकी अधिवेशनको समय भने कात्तिकबाट मंसिरमा सरेको थियो।

कोभिड-१९ महामारीको बीचमा पनि संसद विघटन नभइदिएको भए सायद काँग्रेसमा नयाँ महाधिवेशनको मिति तोक्ने कसरत पनि हुन्थ्यो। सभापतिका आकंक्षीहरु मैदानमा देखिन थालिसकेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिए र आउँदो वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा पनि।

विधानत: काँग्रेस सभापति शेरबहादुर देउवाको कार्यकाल सकिसकेको छ। चार वर्षे कार्यकाल सकेर पनि पार्टी विधानको धारा ४३ को प्रयोग गरेर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेका छन्। गत पुस ११ गतेको केन्द्रीय समितिले यही धारा प्रयोग गर्दै निर्णय गर्‍यो - 'नेपाली कांग्रेसको तेह्रौ महाधिवेशन २०७२ फाल्गुण २०–२३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको र पार्टीको विधान अनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरुको अवधि २०७६ फाल्गुण १९ गतेसम्म कायम रहेको छ।…त्यसैले नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २०७६ फागुन २० गतेदेखि लागू हुने गरी २०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरिन्छ।'

प्रकाशित मिति: : 2020-12-27 12:00:00

प्रतिकृया दिनुहोस्