ओलीले मरेपछि हिटलरले झैं चिहान पाउने छैनन् (भिडियाेसहित)

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड)ले मंगलबार देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुसार जुम्लामा पनि विशाल जनप्रदर्शन गरेकाे छ। 

जुम्लामा पार्टी कार्यालय करेसाबारीबाट र्‍याली शुरु गरेर बृहत शक्ति प्रदर्शन गरिएको पार्टी अध्यक्ष विरबहादुर कुँवरले बताए।

करेसाबारीबाट सुरु गरिएको र्‍याली टुडिखेल हुँदै मुख्य बजारकाे कृष्ण मन्दिरमा पुगेर सभामा परिणत भएकाे थियो।

कोणसभामा बाेल्दै निवर्तमान सांसद गजेन्द्रबहादुर महतले ओलीले संविधानको घाँटी निमाेठने काम गरेकाेले सबै मिली संविधानकाे हत्या हुनबाट जाेगाउन आन्दोलन गरिएको बताए।

प्रधानमन्त्री केपी ओेलीले असंवैधानिक तवरले संसद विघटन गरेपछि भएकाे शक्ति प्रदर्शनको क्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्जसमेत रहेका निवर्तमान संसद महतले ओली र राष्ट्रिपतिको कदमले देशमा दुर्घटना हुन लागेकाे हुनाले आम नागरिकले संविधानको रक्षा गर्नलाई भएपनि सडकमा आउनुपर्ने तर्क राखे।

'प्रधानमन्त्रीले कुनैपनि हालतमा चुनाव गर्दैनन्,' उनले भने, 'यस्ताे बेला नेकपा, कांग्रेस, जसपा सहित सबै मिलेर अगाडि बढ्नुपर्छ।' 

उनले संविधान जोगाएमा नेपालका जुनसुकै दलले बहुमत ल्याएर सरकार बनाए पनि टाउको दुखाइकाे विषय नहुने तर संघीयता र संविधानलाई धराप पार्ने गरि चालिएको प्रतिगामी कदमविरुद्धमा जुनसुकै मूल्य चुकाउन तयार रहने ठाेकुवा गरे।  

त्यस्तै पूर्व राज्यमन्त्री तथा नेकपा प्रदेश कमिटी सदस्य गोमा कुँवरले राष्ट्रपति विद्या भण्डारीले संविधान विघटन जस्तो कुरालाई सजिलै स्वीकार्नु दुर्भाग्य भएको बताउदै ओली र विद्यादेवीले गरेको गल्ति जनताले सच्याउने बताइन्।

नेकपा प्रदेश कमिटी सदस्य नवराज न्यौपानेले प्रधानमन्त्रीले हिटलरी शैली अपानाएकाले मर्नेबेलामा ओलीले हिटलरले झैं चिहान नपाउने भन्दै कटाक्ष गरे।

अर्का वक्ता नेकपा जिल्ला अध्यक्ष विरबहादुर कुँवरले ओलीले संविधानकाे बलात्कार गर्ने कुकर्म गरेकाले जनताले नछाड्ने आरोप लगाए। 'राजालाई त गलत्याएर हटायौं भने ओली हाम्रा लागि काेही हाेइनन्,' उनले भने। 

सचिव तिर्थ बुढाले बहुमत जनतालाई लात हानेर संविधान माथी प्रहार गर्नु देशलाई दिएकाे धाेका भएकाले सडकबाटै संविधानको रक्षा गर्न आन्दोलन गरिएको बताए।

 

 

प्रकाशित मिति: : 2020-12-29 22:21:00

प्रतिकृया दिनुहोस्