सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिगबास लिगमा यस सिजनको पहिलो खेल शनिबार खेल्ने भएका छन्। 

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि मैदान उत्रिन लागेका हुन्। उनले पहिलो खेल पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्ने छन्। 

 लामिछानेले मेलवर्नविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्। 

लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस सिजनका शुरुवातका छ खेल गुमाएका थिए।

नेपालमै छँदै कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो।

अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए।

उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन्। उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ। हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ। 

लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ। 

उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन्। लामिछानेले यसअघि दुई सिजनको बिगबास मेलवर्नबाट खेलेका थिए। 

ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए। 

प्रकाशित मिति: : 2021-01-01 12:29:00

प्रतिकृया दिनुहोस्