ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरे: नेकपा (प्रचण्ड) अध्यक्ष नेपाल

नेकपा (प्रचण्ड) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

मंगलबार जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले ओलीको अधिनायकवादी प्रवृत्ति लादेको भन्दै संसद विघटन भइनसेको दावी गरे। 

‘बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई संविधानले प्रतिनिधि सभा विघटन गर्न सक्ने अधिकार छैन। उहाँले गरे भन्दैमा विघटन हुने छैन,’ उनले भने। 

प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध गरिएको समेत स्वीकार गरे।  

उनले भने, ‘जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो । उहाँलाई गिराउन र होच्याउन विरोध गरिएको होइन। यो विरोध उहाँलाई सुधार्नका लागि गरिएको हो।’


प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए। 

‘प्रधानमन्त्रीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने विचार नगरी बोल्दा आफूहरुलाई पोल्ने र टाउको उठाएर ताली बजाउने होइन, शिर निहुर्याएर झोक्रिने अवस्था आयो,’ उनले भने।

अध्यक्ष नेपालले ओलीलाई माया लागे नेकपा ओली गुट भन्न आग्रह गरे।

‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो।’

उनले पार्टी नेता झलनाथ खनालको प्रस्तावमा दुई तिहाइ केन्द्रीय समिति सदस्यबाट सर्वसम्मत आफू नेकपाको अध्यक्ष भएको समेत दावी गरे। 

‘निरंकुश शैलीले अगाडि बढेपछि ओलीलाई अनुशासनको कारवाही गरिएको हो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने।

प्रकाशित मिति: : 2021-01-05 15:26:00

प्रतिकृया दिनुहोस्