निर्वाचन विशेष

सुरक्षा व्यवस्था कडा छ, ढुक्क भएर भोट हाल्नुस् : प्रजिअ उपाध्याय (भिडियाे रिपाेर्ट)

शनि शाक्य

काठमाडौं

जिल्ला निर्वाचन व्यवस्थापन समितिले काठमाडौंका सबै मतदान केन्द्रको अनुगमन तथा निरीक्षण गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, मुख्य निर्वाचन अधिकृत राजु खतिवडा, काठमाडौं प्रहरी प्रमुख (एसएसपी) भरत बोहोरासहितको संयुक्त टोलीले काठमाडौंभरिका सबै मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन गरेको हाे।

काठमाडौंमा ३ सय २० वटा मतदान स्थल र ७ सय ६७ वटा मतदान केन्द्र रहेका छन्। समितिले मतदान स्थल तथा मतदान केन्द्रमा भइरहेको व्यवस्थापनकाे बारेमा पनि निरीक्षण गरेको छ।

प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृतका साथै सबै सुरक्षा निकायका प्रमुखहरुको संयुक्त टोलीले मतदान स्थल तथा केन्द्रमा भएका समस्याका बारेमा पनि साेचविचार गरी त्यसको उचित व्यवस्थापन गर्दै आएको छ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी उपाध्यायले निर्वाचन सुरक्षा व्यवस्थित भएकाे बताएका छन्। उनले सुरक्षा व्यवस्था कडा भएकाे र ढुक्क भएर भोट हाल्नसमेत आग्रह गरे। 

निर्वाचनको पूर्वसन्ध्यामा गर्नुपर्ने तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृत राजु खतिवडाले बताएका छन्।

मतदान केन्द्रदेखि मतदानमा भाग लिने नागरिकको सुरक्षा व्यवस्थाका निम्ति गर्नुपर्ने सबै कामहरु पूरा भएको उनको भनाइ छ।

त्यसैगरी काठमाडौं प्रहरी प्रमुख (एसएसपी) बोहोराले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम नागरिकलाई आग्रह गरेका छन्।

‘सबै सुरक्षा निकायको सहकार्यमा हामीले सुरक्षा व्यवस्थालाई चुस्त बनाएका छौं, ढुक्कका साथ मतदान गर्नु होला’, एसएसपी बोहोराले भने।

सुरक्षाको दृष्टिकाेणले काठमाडौं उपत्यकालाई अत्यन्तै संवेदनशील मानिन्छ। निर्वाचन सुरक्षासंगै निर्वाचनको मौका छोपरे हुने अपराधलाई पनि रोकथाम गर्नुपर्ने अवस्था छ।

यद्यपि, पछिल्लो समय काठमाडौंको सुरक्षा व्यवस्थामा सुधार आएको आम नागरिकले बताउँदै आएका छन्। उपत्यकामा हुने विभिन्न अपराधका घटनामा कमी आएको स्थानीयको भनाइ छ।

प्रकाशित मिति: : 2022-11-11 18:00:00

प्रतिकृया दिनुहोस्