जी न्यूजकाे अन्तर्वार्ता पनि नाटक हाे, त्यसको पटाक्षप आज भइसक्यो : प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय च्यानल जी न्यूजमा प्रशारीत अन्तर्वार्ता पनि नाटक भएको बताएका छन्।

बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘जी न्यूजको इन्टर्भ्यू तपाईंहरूले हेर्नुभयो नि, उहाँले बोलाएको त्यो पनि नाटक कै हो। त्यसको पटाक्षप आज भइसक्यो। अब सगरमाथाको नाम फेर्ने रे, त्यही जी न्यूजले। यो के नाटक देखिँदैछौँ तपाईं हामीले?’ 

प्रचण्डले भारतीय सहयोगअनुसार नै प्रधानमन्त्री ओलीले अहिले प्रतिनिधिसभा भंग गरेको हुन सक्नेतर्फ पनि संकेत गरे।

‘हामीले असारमा स्थायी कमिटीमा छलफल गर्दा मेरा साथीहरूले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो। हामीले त्यतिबेला हटाएनौं। भारतले भन्दैमा हटाउने हो र भनेर हटाएनौं नि त त्यतिबेला,’ उनले भने।

प्रचण्डले प्रधानमन्त्रीले भारतले भनेर संसद भंग गरेका हुन् भनेर जनताले बुझेको बताएका छन्।

उनले भने, ‘अनि उहाँले अहिले पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको सारा जनताले देखे बुझे। तपाईं यसलाई के भन्नुहुन्छ केपीजी। मैले भारतलाई अन्यथा भन्न खोजको होइन, तर केपीजीको त देखियो नि त। उहाँले कसलाई विशेष दूत भन्नुभयो, गुफ्तगु गर्नुभयो तीन घण्टा बालुवटारभित्रै।’

प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन्।

उनले भने, ‘प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी गर्‍यो, काम गर्न दिएन भनेर दाबी गरेका छन्। उहाँलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस्। कुन काममा भाँजो हाल्यो?’

बरु पार्टीले यसो गरौं भन्दा त्यसविपरीत चलेको उनको आरोप छ। 

यदि ओलीले भनेको जस्तै पार्टीले काम गर्न नदिएकै भएपनि उनका सामू नेताहरुको विश्वास लिने वा बहुमत सदस्यहरुलाई गो अहेड भनेर राजीनामा दिनुपर्ने उनले बताए।

‘म भएको भए त यस्तो देख्नेवित्तिकै राजीनामा दिइसक्थें। त्यो राष्ट्र र लोकतन्त्रको हितमा हुन्छ। तर उहाँ त कुर्सी भाँचेर छोड्छु भन्नुहुन्थ्यो। उहाँले कुर्सीमात्र होइन संविधान र राष्ट्र नै भाँचभुच गर्ने अवस्था आयो अब कसरी सहने?’, उनले भने। 

प्रकाशित मिति: : 2021-01-13 15:54:00

प्रतिकृया दिनुहोस्