नेपालको जातीय विविधता: समस्याको जरो कि सकारात्मक स्रोत ?

हिमाल खबर

काठमाडाै‌ं

डोरबहादुर विष्ट
हाम्रो देशमा भविष्यमा कुनै दिन हिंसापूर्ण जातीय वा साम्प्रदायिक भिडन्त हुन सम्भव छ कि छैन भन्ने प्रश्न गर्नु भनेको भविष्यमा कुनै दिन हाम्रो देशमा भूईँचालो आउला कि नआउला भनेर प्रश्न गर्नु जस्तो कुरो होइन। किनभने भुईँचालो हाम्रो नियन्त्रणमा हुँदैन। यो त दैवसंयोगले हुने कुरा हो।  जाति, धार्मिक समूह र सम्प्रदाय भनेको चाहिँ हामी आफै नै भएको हुनाले आपसमा दङ्गा र भिडन्तचाहिँ हामी सबै मिलेर कोसिस गरेमा टार्न पनि सक्छौं। 

त्यसैले, त्यस्तो स्थिति आउला कि नआउला भनेर जोखना हेर्नुभन्दा कस्तो बोली व्यवहार गरेमा र कस्तो आर्थिक, सामाजिक र सांस्कृतिक बनोट भएको समाजको निर्माण गर्ने नीतिको अवलम्बन गरेमा भिडन्तको सम्भावना बढ्छ अथवा घट्छ र विविधतालाई कसोगरी स्याहारेमा यस देशको आकर्षक र सकारात्मक पक्ष अगाडि आउँछ तथा सबै नेपालीलाई बढी उदार सहयोगशील र सहिष्णु बन्न मद्दत पुग्न सक्छ भन्ने विषयमा चिन्तन गर्नु चाहिँ हामै चाहना र पौरखभित्रको कुरा हो।

चाहना र पौरख पनि यथार्थको सीमाभित्र रहेर गर्नुपर्ने वास्तविकता चाहिँ सबैले राम्रोसँग बुझनु पर्दछ। नत्र त हाम्रो देशको आकार चीनको जत्रो नहुनाले हामी गरीब र अविकसित भएका हौं भने पनि भयो। हाम्रो देशमा सबै एउटै जातका मानिस अर्थात् सबै नेपाली तामाङ वा थकाली आदि नभइदिएको हुनाले अथवा कि चाहिँ सबै नेपाली हिन्दू वा बौद्ध नभइदिनाले हामीलाई पिरलो परेको भन्ने खालका बहुलठ्ठी कुरा गरेर हिंडेपनि भइहाल्यो। तर, त्यसो गरेर काम लाग्दैन, किनभने हाम्रो देशको यथार्थ त्यस्तो छैन।
 

प्रकाशित मिति: : 2021-01-18 14:10:00

प्रतिकृया दिनुहोस्