ट्रम्पको बिदाई वक्तव्य- हामी जे गर्नका लागि आएका थियौँ त्यो भन्दा धेरै गर्‍यौँ

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नुअघि बिदाई सम्बोधन गरेका छन्। ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा ‘अनपपुलर’ (अप्रुभल रेट मात्रै ३४ प्रतिशत) राष्ट्रपतिका रुपमा बिदा हुँदै छन्।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज औपचारिक रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पको केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार युट्युबमा पोस्ट गरिएको हो। 

ह्वाइट हाउस छोड्नु पूर्वको सम्बोधनमा ट्रम्पले आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन्।

उनले भनेका छन्, ‘हामी जे गर्नका लागि आएका थियौँ त्यो गर्‍यौँ, र त्यो भन्दा धेरै गर्‍यौँ।’

‘यो कठिन लडाई थियो र कठिन भिडन्त रह्यो। मैले अति कठीन युद्ध लडेँ, गाह्रो संघर्ष गरेँ किनभने तपाईंहरुले मलाई यही गर्नका लागि निर्वाचित गर्नुभएको हो,’ भिडियोमा ट्रम्प भनेका छन्। 

ट्रम्प अझै पनि नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा आफ्नो हार स्वीकार गर्न सकिरहेका छैनन्। उनी बाइडेनसँग पराजित भएका थिए। उनको उक्साहटमा समर्थकहरुले नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरे। सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो।

 हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ।

ट्रम्पले भनेका छन्, ‘हामीले अमेरिकीका रुपमा गर्व गर्ने सबै कुरामाथिको आक्रमण हो राजनीतिक हिंसा।’

बाइडेन नेपाली समयअनुसार आज मध्यरातमा सपथ लिँदैछन्।

प्रकाशित मिति: : 2021-01-20 07:57:00

प्रतिकृया दिनुहोस्