'बा'हरूको पेलानमा नेकपाका 'केटाहरू' : मिलुन्जेल कमरेड, छुट्टिएपछि पोलापोल

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : विभाजनको रेखा कोरिएपछि नेपाल कम्युनिस्ट पार्टीभित्र हरेक दिन एकअर्काविरुद्धको दन्त बजान सामान्य बनेको छ। समकक्षी नेतासँगमात्र होइन, विपक्षमा उभिएका शीर्षदेखि तल्लो तहसम्मका कार्यकर्ताविरुद्ध पनि बिष बमन् जारी छ अहिले।

अनौपचारिक नै भए पनि नेकपा विभाजित छ। त्यसैले दुवै समूहका शीर्ष नेताहरू आफ्नो तहमात्र होइन, अर्कोतिर लागेका आफूभन्दा तल्लो तहमा रहेकाविरुद्ध पनि आक्रामक सुनिन्छन्। यसरी आक्रमक हुनेमा अरुभन्दा अगाडि छन् प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली। आक्रामक रुपमा ओली उत्रिएपछि उनकै शैली समातेका छन्, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि।

'देशमा ओलीमात्र थिए जथाभावी बोल्ने। अब त तपाईँहरु पनि ओलीजस्तै भइसक्नु भयो,' बुधवार एउटा अन्तरक्रियामा सम्पादकहरुले प्रचण्ड र माधवकुमार नेपाललाई यसै भनेका थिए। 

कुनै बेलामा एकअर्काप्रति समर्पित भएको अभिव्यक्ति दिने नेताहरुको शैलीले अहिले उनीहरु आफैँ खिसिट्युरीको विषय बन्न थालेका छन्।

शीर्ष नेता आफूलाई साथ दिएकाको हदै सम्मको बचाउमा लागेका छन् भने छुट्टिएकाको खिसिट्याउरीका जबरजस्ती गालीको वर्षा गरिरहेका छन्। ओली समूहका युवा नेताहरूले ओलीलाई 'बा' भनेर सम्बोधन गर्छन्। तिनैका बा अर्थात् ओली भने विपक्षी गुटमा रहेका नेतालाई होच्याउँदै भन्छन् - केटा।

'बा' र 'केटा'हरूबिच द्वन्द्व कडै देखिन्छ। 'बा' भन्नेले ओलीको तुच्छभन्दा तुच्छ अभिव्यक्तिको पनि बचाउ गर्छन्। उखान टुक्कामार्फत् ओलीले नेताहरूमाथि आक्रमण गर्दा उनी इतरका युवापुस्ताका नेताहरू भने पुराना दिनको सम्झना गराउँछन्। आफूहरूकै रगत र पसिनाले ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको भए पनि उनी हाल आफूहरूको मानमर्दनमा लागेको तर्क हुने गर्छ उनीहरूको।

प्रकाशित मिति: : 2021-01-22 12:05:00

प्रतिकृया दिनुहोस्