ओली सरकारकाे टाउकैमा हान्नुपर्ने भयाे: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड–नेपाल समूह) अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं केन्द्रित ठूलो जनप्रदर्शन आवश्यक भएको र सरकारकाे टाउकोमै प्रहार गर्नुपर्ने बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, ‘काठमाडौंमा अस्तिको भन्दा ठूलो जनप्रदर्शन गर्नुपर्ने भयो। टाउकोमै हान्नुपर्ने भयो।’

उनले राजाहरुले पनि आफू ढल्नु भन्दा अगाडि, पञ्चहरुले पनि ढल्नु अगाडि र्‍याली गर्ने गरेको समेत स्मरण गर्दै केपी ओलीले गर्ने सभा र र्‍याली पनि त्यस्तै भएको टिप्पणी गरे।  

‘त्यस्ता र्‍यालीको केही अर्थ छैन,’ उनले भने, ‘हामी सानो भएपनि ठूलो भएपनि हामी जनताको पक्षमा राष्ट्रको पक्षमा गणतन्त्रको पक्षमा संविधानको पक्षमा भएकोले हाम्रो र्‍याली चाहिँ जनताको र्‍याली हो। ओलीको कार्यक्रम प्रतिगमनकारी कार्यक्रम हो।’

उनले माघ ९ गतेको विरोधसभामा मधेसबाट ठूलो सहभागिता भएको बताउँदै आगामी कार्यक्रममा पनि मधेशबाट ठूलो संख्यामा उपस्थित हुनुपर्ने बताए। 

‘तपाईहरुलाई १० हजार आउन भनेका थियौँ। १३ हजार आउनुभयो,  फेरी काठमाडौंमा नै अझ ठूलो प्रदर्शन गर्न आवश्यक छ,’ उनले भने, ‘अबको कार्यक्रममा तपाईहरु २५ हजार आउनुस् भन्यो भने तपाईहरु ३० हजार आउनुहुन्छ। मलाई थाहा छ।’

उनले प्रदेश २ मा पनि कार्यक्रम आन्दोलन गर्नुपर्ने पनि बताए।

प्रकाशित मिति: : 2021-01-25 12:22:00

प्रतिकृया दिनुहोस्