बर्मा आए कर्मसँगै, नेपाल गए कपाल...

राजकुमार शर्मा

नाम्टू, म्यान्मार
Breaknlinks
Breaknlinks

‘बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै’, यो उखान बर्माको नेपाली समुदायमा पनि प्रचलित छ जति नेपालभित्र भन्ने गरिन्छ। 

आफूसँगै कर्म लिएर बर्मा आएका ‘गोर्खा’ (नेपाली) समुदायलाई बर्मामा बाँच्न कुनै कठिनाई छैन तर मनमा पीडा भने अनेक छन्। नेपाली मूलका बर्मेलीहरू थातथलो छाडेर भाग्न बाध्य भएको विगतको त्यो समय, ती दिनहरू सम्झिँदा अहिले पनि भावुक हुन्छन्। 

दोस्रो विश्वयुद्धताका जापानीसँग लड्दा–लड्दै सयौँ गोर्खाहरू सहीद भए तर बर्मालार्ई भने जोगाएरै छाडे। वीर गोर्खालीहरू जापानी फौजविरूद्ध डटेर युद्ध मैदानमा खटेका थिए।

गौरवपूर्ण इतिहास बोकेका गोर्खाहरूको आज पनि आ–आफ्नै दुःख छ। उनीहरू कहिल्यै एक ठाउँमा थपक्क बस्न सकेनन्। पूर्वदेखि पश्चिमसम्म, बर्मादेखि भारत हुँदै नेपालसम्म, पहाडी गाउँदेखि समुन्द्री मैदानसम्म छरिएर बसोबास गर्नेहरूका बेग्लै कथा–व्यथा छन्।

युद्धको सन्त्राशले कयौँ नेपालीभाषीहरू मुलुक फर्के। जापान–ब्रिटिश युद्धको समयमा होस् या सैनिक तानाशाहले ‘कू’गरी सत्ता हत्याएपछि मच्चिएको दङ्गा, बर्मेली–नेपालीहरूको सबैभन्दा कठिन समय हो, त्यो। कहानीजस्तै लाग्ने यो गाेर्खाहरूकाे वास्तविक भोगाइ हो।

हिँडेरै भारत छिरेका कतिपय बर्मेली–नेपालीहरू त्यसै बसे। कति त मुलुक नै पुगे। थकानसँगै लामाे बाटो हिँड्दा–हिँड्दा ज्यान गुमाउनेहरूको त लेखाजोखा नै छैन। यस्तो सङ्कटको अवस्थामा जन्मभूमि नछाड्नेहरूको संख्या पनि उत्तिकै थियो। उनीहरू बर्माका विभिन्न ठाउँमा जसोतसो रमाइरहेका छन् तर राजनीतिक उथल–पुथलका कारण भने हैरान छन्। 

मुलुक फर्किनेहरूको इतिहास हेर्दा यस्तो लाग्छ, अब कहिल्यै त्यो दिन नआओस्। कति लुटिए। कति ठगिए। कति धोकामा परे। कति मारिए। कति त बर्मामै लुकेर बसे– बस्, बाँच्न कै लागि।

निश्चल रगत र पसिनाले कमाएको धन–सम्पत्ति लुटिँदा टुलुटुलु हेर्ने अवस्था नै थिएन। कुनै न कुनै नयाँ उपाय सोच्नै पथ्र्यो। त्यसैले ‘कर्मसँगै बर्मा आएका’ नेपाली मिलिजुली बसेका थिए। राजनीतिक सङकटले दुःख दियो। आजको दिनसम्म पनि यहाँ बसोबास गर्ने नेपालीभाषीहरू एकताको सूत्रमै बाँधिएका छन्। 

छट्पटिदैँ जीवनको गोरेटोको यात्रारत गोर्खाहरू कुनै समय कडा पीडाका साथ बाँच्न बाध्य थिए। फोन थिएन। इण्टरनेट त झन् हुने कूरै भएन। माता–पिताहरू युद्ध मैदानदेखि गोठालोको दैनिकी भुलिरहेको बेला बिछोडिएका सन्तानहरूमणिपुर, असम हुँदै नेपालसम्म फैलिए तर सम्पर्कबिनै। 

कतिपयका छोरी–ज्वाइँ भारत, नेपाल पसे। माता–पिता बर्मामै रहे। दाजुभाइ नै बर्मा, भारत र नेपालसम्म बाँडिए। रहरले हैन, बाध्यताले। आज पनि प्रायः बर्मेली–नेपालीहरू तीन देशमा तीनतिर छरिएर आ–आफ्नै दैनिकीमा भुलेका छन्।

परिवारमा नयाँ सदस्य थपिए वा कसैको मृत्यु भए पनि महिनौँपछि मात्रै खबर मिल्थ्यो– त्यो समय। आज सामाजिक सञ्जाल छ र पो सजिलो छ। नत्र ती दिनका ती दिन दुःख तिनीहरूलाई सोध– जसले अर्को जीवन पाएका थिए। 

सङ्कटले चारैतिर तितरबितर भएकाहरूले यहाँ नयाँ मुलुक बनाए। मिलेरै बसे। एकआपसमा नाता जोडे। कुनै जातपातको भेद् नगरी मित्रवत सम्बन्ध स्थापित गरे।

माता–पिता नेपाल फर्किएकाहरूले धर्म माता–पिता बनाए। दाजुभाइ–दिदीबहिनीहरू पनि त्यसै गरी जोडिए। तीज, दशैँ र तिहारमा रमाउँदै–रमाउँदै आइरहेका छन्। सबैभन्दा ठूलो कुरा यहाँका नेपाली समुदायले तिहारमा कहिल्यै पनि आफ्नो निधार  खाली बनाएनन्। नेपालीहरू आफ्नै संस्कार र संस्कृतिमा रमाए र बर्माको विभिन्न गाउँ–ठाउँमा विस्तार गरे।



बर्मेली फुटबल इतिहासमा 'बहादुर' गोर्खाको कथा

‘दोस्रो नेपाल’ भनेर चिनिने म्यान्मारको 'नाम्टू' घना जङ्गलमा परिणत

म्यान्मार 'कू': आन्दोलनको अग्रपंक्तिमा गोर्खाली युवा

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

प्रकाशित मिति: : 2021-08-06 06:14:00

प्रतिकृया दिनुहोस्