'जसको हातमा सरकार छ, उसले किसानको चिन्ता गर्दैन'

भारतमा किसान आन्दोलन जारी छ। आन्दोलनरत किसान र केन्द्र सरकारबीच पटकपटक वार्ताका प्रयासहरु भएपनि सरकारले कानून फिर्ता नलिदाँ आन्दोलनले उग्र रुप लिइरहेको छ।

दिल्ली, हरियाणा, पन्जाब, उत्तरप्रदेश, पश्चिम बंगालमा चलिरहेको आन्दोलन एकाएक महाराष्ट्रमा पनि फैलिएको छ। किसान आन्दोलनलाई समर्थन गर्न र केन्द्र सरकारको विरोध गर्न मुम्बईको आजाद मैदानमा पूर्वमन्त्रीसमेत उत्रिएका छन्।

राज्यमा रहेका किसान समूहहरू कुनाकुनाबाट आजाद मैदानमा पुगेका छन्। आइतबार साँझ हजारौं संख्यामा यहाँ आएका किसान सोमबारदेखि आन्दोलमा लागेका छन्। आन्दोलनरत किसानको भीडलाई एनसीपी प्रमुख तथा भारतीय राजनीतिका प्रभावशाली नेता शरद पवारले सम्बोधन गरेका छन्।

पूर्वकेन्द्रीय मन्त्री पवारले किसान आन्दोलन देशभर शान्तिमय ढंगले चलिरहेको हुँदा, किसानका मागहरु छिट्टै पूरा गर्न केन्द्र सरकारलाई आग्रह गरेका छन्। चिसो मौसममा, पंजाब, हरियाणा र उत्तर प्रदेशका किसान महिनौदेखि आन्दोलन गरिरहेका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदीले किसानका समस्या चाडै नगरे आन्दोलनको रुप फैलिले नेता पवारले चेतावनी दिएका छन्। उनले भने, ‘के यी किसानहरू पाकिस्तानका हुन्? किसानहरूका माग तत्काल सम्बोधन गरियोस्।’

भारतीय अर्थतन्त्रमा राजधानी मानिने मुम्बई देशको महत्वपूर्ण सहर हो। स्वतन्त्रता संग्राममा पनि यहाँको महत्वपूर्ण भूमिका लिएको राम्रो प्रसंसा हुनेगर्दछ। किसान आन्दोलनलाई मुम्बईको इतिहाससँग जोड्दै नेता पवारले भने,‘यो लडाई सजिलो छैन। जसको हातमा सरकार छ, उसले किसानको चिन्ता गर्दैन। धेरै दिनदेखि किसान आन्दोलन चलिरहेको छ। तर, प्रधानमन्त्री मोदी बेखबर छन्।’

पूर्वकेन्द्रीय कृषिमन्त्री पवारले आफू कृषिमन्त्री हुँदा सबै राज्यका कृषि मन्त्रीहरूसँग यस विषयमा गम्भीर छलफल गरेको बताएका छन्। उनले भने, ‘भाजपाको सरकार आएपछि कानूनमा छलफल गरेनन् र कानून पारित गरे। अनि, समस्या त्यहीबाटै उत्पन्न भयो।’

आन्दोलित किसान समूहले राज्यका गभर्नर भगतसिंह खोसियारीसँग समय मागेपनि भेट्न पाएनन्। नेता पवारले गभर्नर तर्फ इंकित गर्दै भने, ‘राज्यलाई कंगना रनौतसँग भेट्ने समय छ, तर किसानसँग भेट्न फुर्सद छैन।’

 गणतन्त्र दिवसमा किसानले ट्रयाक्टर परेड गर्ने

भारतले मंगलबार ७२ औँ  गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरि राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

ठाउँ–ठाउँमा छेकबार लगाइएको छ। दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। 

मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्‍यालीको आयोजना गर्दैछन्।

किसान संगठनले फेब्रुअरी १ मा संसद भवन घेराउको घोषणा पनि गरेका छन्। उक्त दिन भारतको संसदमा बजेट पेश हुने छ।

कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर र्‍याली निकाल्न सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-01-25 23:30:00

प्रतिकृया दिनुहोस्