१७ अर्बको सामान अलपत्र

काठमाडौं : कोभिड— १९ को संक्रमण फैलिन नदिन भन्दै चिनियाँ पक्षले गरेको कडाइका कारण करिब १७ अर्बको सामान चीनको विभिन्न स्थानमा अलपत्र परेका छन्। 

कोभिड—१९ को संक्रमण फैलिएसँगै चिनियाँ पक्षले तातोपानी र रसुवा नाकाबाट आउने मालसामानको आयातमा कडाइ गरेको छ। कहिले खोल्ने, कहिले बन्द गर्ने र खोल्दा पनि निकै कठिन प्रक्रिया पूरा गरी ती दुवै नाकाबाट दैनिक ६ देखि ८ कन्टेनर मात्रै नेपालतर्फ आइरहेका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड—१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइलको एसेसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान अड्केको छ।

पछिल्लो समय चिनियाँ पक्षले तातोपानी र रसुवा नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने ल्याउन दिएको छैन। ती दुवै नाकाबाट अन्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी ‘घर न घाट’ का भएका छन्।

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार कोभिड—१९ को समस्या सिर्जना हुनुअघिसम्म नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउथ्यो। खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपु¥याउँथे। दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि एक सय कन्टेनरसम्म सामान आउँथ्यो। यस्तै रसुवाको केरुङ (चीनतर्फको भूभाग) सम्म नेपाली कन्टेनर जान पाउथ्यो। ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, संघका अध्यक्ष पौडेलले भने।  

प्रकाशित मिति: : 2021-01-27 08:53:00

प्रतिकृया दिनुहोस्