विराट कोहली फेरि कानुनी लफडामा 

भारतीय क्रिकेट कप्तान विराट कोहली कानुनी लफडामा परेका छन्। अनलाईनबाट जुवा खेलाउने कम्पनीको प्रमोसन गरेको आरोपमा विराटविरूद्ध मद्रास उच्च अदालतले नोटिस पठाएको छ। 

विराट, बलिउड अभिनेत्री तमन्ना भाटिया र अभिनेता अजु वर्गिजविरूद्ध पनि अदालतले नोटिस पठाएको छ। यी तीनै जना अनलाइन रमी गेम –एमपीएल–मोबाइल प्रिमियर लिग) का ब्राण्ड एम्बेसेडर हुन्। यो अनलाईनबाट सट्टेबाजी हुने गरेको छ। यसलाई रोक्न सुरुदेखि नै सोसल मिडियामा ठूलो हल्लाखल्ला भएको थियो। 

गत जुलाईमा विराट, तमन्ना, अजुविरूद्ध चेन्नईका एक वकिलले मद्रास उच्च अदालतमा मुद्धा दायर गरेका थिए। जसमा अदालतले कारण देखाउ आदेश दिएको हो। अदालतले राज्य सरकारसँग पनि यो मुद्धामा जवाफ माग गरेको छ। 

रमी खेलमा ठूलो धनराषी गुमाएका ३२ वर्षीय साजेशले अदालतको निर्णयप्रति खुसी व्यक्त गर्दै भनेका छन्, ‘अदालतको हस्तक्षेपको म स्वागत गर्दछु। यसमा पैसा गुमाउने धेरै मानिसलाई म चिन्छु। मैले नै ६ लाख हारिसकेको छु।’

सोझासाझा जनतालाई ठग्न सेलिब्रिटीको सहयोग लिएर यस्तो धन्दा भइरहेको उनको बुझाई छ। यो खेलको विषयमा सर्वप्रथम राज्यसभामा कुरा उठेको थियो। सभामुख बेङ्कैया नायडुले पनि यो विषयमा कानुन मन्त्रीको ध्यानाकर्षण गराइसकेका छन्। हालै तिरुवन्तपुरममा २७ वर्षीय एक युवक विनितले २१ लाख रुपैयाँ हारेपछि आत्महत्या गरेका थिए।

प्रकाशित मिति: : 2021-01-28 08:35:00

प्रतिकृया दिनुहोस्