पाहुना

विष्णु पन्थी

याँगौं म्यान्मार

म हूँ पाहुना एक यात्री धरामा
परेकोछु आई यहाँ पिन्जरामा
सबैला पुकारेँ म मागेँ दुहाई 
न आए नसोधे कसैले मलाई ॥१॥

म बुझ्दै गएँ क्यै यहाँको व्यवस्था
सुधारें म आफै म मेरो अवस्था
यहाँ कर्मको रैछ ठूलो प्रभाव
सबै ज्ञान पाई सुधारें स्वभाव ॥२॥

त्यसै कर्मलाई विधाता भनेका
कतै रूप आकारमा नै बनेका
सबैले पुकारा गरेको म देखें
जगत्को कथाकाव्य सर्वस्व लेखें ॥३॥

म मानें धरा ता अनौठो रहेछ 
असामान्यताले सबै यो बनेछ
म हूँ एक द्रष्टा र साक्षी यहाँको
यहाँ आज आएछु भोली कहाँ हो ॥४॥

(भुजङ्गप्रयात छन्द)

प्रकाशित मिति: : 2021-01-30 18:10:00

प्रतिकृया दिनुहोस्