सुकीको उतारचढाव

रामकला खड्का

बर्माको प्रजातन्त्रवादी नेत्री एवं नोबल शान्ति पुरस्कार विजेता आङ साङ सुकीले १५ वर्षभन्दा लामो समय नजरबन्दमा बिताइन्। जसमध्ये अधिकांश समय सुकीलाई घरमै नजरबन्दमा राखियो। तेस्रो चरणको नजरबन्दबाट उनी १३ नोभेम्बर २०१० मा रिहा भएकी थिइन्। म्यानमारकी सर्वोच्च नेत्री सुकी अन्तर्राष्ट्रिय जगत्मै चर्चित छन्। उनले शान्ति र मानवअधिकारका लागि संघर्षरत नेत्रीको रूपमा विश्वव्यापी पहिचान बनाएकी छन्। उनले देशमा सैनिक शासकलाई चुनौती दिन आफ्नो स्वतन्त्रतासमेत त्यागेकी थिइन्।

व्यक्तिगत जीवन
म्यानमारमा ‘द लेडी’को उपाधि पाएकी सुकीको जन्म सन् १९४५ जुन १९ मा म्यानमारको रंगुनमा भएको थियो। उनी अंग्रेजविरुद्ध लडेर देशलाई स्वतन्त्रता दिलाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने म्यानमारका स्वतन्त्रता नायक जनरल आङ सानकी छोरी हुन्। सानलाई आधुनिक म्यानमारका पिताका रूपमा चिनिन्छ। उनकी आमा खिन की म्यानमार स्वतन्त्र भएपछि भारत र नेपालका लागि राजदूत थिइन्।

उनका पिता जनरल सान बेलायती राजबाट म्यानमार स्वतन्त्र हुनुअघि नै मारिएका थिए। त्यतिबेला सुकी दुई वर्षकी थिइन्। उनले बर्मा, भारत र बेलायतमा आफ्नो शिक्षा पूरा गरेकी हुन्। दिल्ली विश्वविद्यालयबाट सन् १९६४ मा राजनीतिशास्त्रमा स्नातक गरेकी उनले सन् १९६८ मा अक्सफोर्ड विश्वविद्यालयबाट राजनीतिशास्त्रमै एमए उत्तीर्ण गरिन्। अक्सफोर्डमा अध्ययन गर्ने क्रममै उनको भेट माइकल एरिससँग भयो र सन् १९७२ मा उनीहरू विवाह बन्धनमा बाँधिए। उनका एलेक्जेन्डर र किम नाम गरेका दुई छोरा छन्।

सुकी सन् १९८८ मा आमालाई स्याहार्न बर्मा फर्किएकी हुन्। त्यसपछि उनले प्रजातन्त्र पुनर्बहालीका राष्ट्रव्यापी गतिविधिमा सहभागिता जनाउन थालिन्। त्यहाँको सैन्य शासनले ८ अगस्ट, १९८८ मा करिब ५ हजार प्रदर्शनकारीलाई मारेर क्रूर बल प्रदर्शन गरी विद्रोहको जवाफ दियो। सोही वर्ष १८ सेप्टेम्बरमा सेनाले ‘कु’ गरेपछि २४ सेप्टेम्बरमा नयाँ प्रजातन्त्रवादी पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को स्थापना भयो। उनी पार्टीको महासचिव बनिन्। सुकीले पनि सभा–समारोहमा उपस्थित हुँदै स्वतन्त्रता र प्रजातन्त्रका पक्षमा भाषण गर्न थालिन्।

प्रकाशित मिति: : 2021-02-02 12:21:00

प्रतिकृया दिनुहोस्