लुगलुग काम्दै मधेस

तराई/मधेसमा शीतलहरका कारण अहिले बिहान–साँझ चिसोले मुटु कमाउँछ। मैथिलीमा भनिन्छ, ‘हाथ हाथ नै सुझाइछैं।’ अर्थात् एक हातले अर्को हातलाई हेर्न नसकिने गरी हुस्सु लाग्छ। बिहान ११ बजेसम्म बाक्लो हुस्सुले गर्दा सवारी साधन चलाउँदा हेडलाइट बाल्नुपर्छ। हुस्सुकै कारण सवारी दुर्घटनाको जोखिम देखिएको छ। 

अर्कातर्फ पैदलै घरबाहिर निस्किँदा शीतलहरले हानि पुर्‍याउने खतरा छ। ‘हुस्सु र कुहिरोले सवारी दुर्घटनाको सम्भावना निकै बढाएको छ। त्यसैले हामीले चेकजाँच बढाएका छौं’, जनकपुरका ट्राफिक इन्स्पेक्टर नवराज न्यौपानेले भने, ‘चिसोका बेला लाइट बालेरै सवारी साधन चलाउन र न्यानो भएर यात्रामा निस्कन हामी सन्देश दिने गर्छौं।’

स्थानीयले विगतको तुलनामा यस वर्ष बढी चिसो महसुस गरेका छन्। ‘हामी मजदुरका लागि वर्षायाम होस् कि शीतलहरी, सबै दुःखदायक नै छ’, स्थानीय सतेन्द्र महतोले भने, ‘यसअघि कोरोना भनेर काम थिएन। अब शीतलहरीले गर्दा काम पाउन गाह्रो छ। खै कसरी जिन्दगी चलाउने ?’ महतोले पहिला कोरोना र अहिले शीतलहरले कामधन्दा चौपट बनाएको दुःखेसो गरे।

प्रकाशित मिति: : 2021-02-03 09:14:00

प्रतिकृया दिनुहोस्