बगरजस्तै फेवाताल

दुई साताअघि पोखरा आउँदा फेवाताल घुम्न पुगेकी भक्तपुरकी मीरा खड्का घरायसी कामका कारण आइतबार पुनः पोखरा आइपुगिन् । उनी सोमबार बिहान फेवातालस्थित वाराही मन्दिर दर्शनका लागि पुग्दा तालमा पानीको सतह घटेको देखेर अचम्मित भइन् । तुरुन्तै उनले नजिकै रहेका डुंगाचालकसँग यसको कारण सोधिन् ।

फोटो तथा भिडियोमा फेवाताल देखेकी चितवनकी शर्मिला पौडेल सोमबार फेवाताल पुग्दा फोटोमा देखेजस्तो रूप पाइनन् । उनले फोटोमा देखेको ताल र प्रत्यक्ष देखेको तालमा आकाश जमिनको फरक पाएपछि छक्क परिन् । हिजोआज पोखरा आउने अधिकांश पर्यटक पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालको स्वरूप देखेपछि अचम्ममा पर्ने गरेका छन् ।

कारण हो, बाँध मर्मतका लागि पानीको सतह घटाएपछि देखिएको दृश्य । तालको बाँध जीर्ण अवस्थामा पुगेपछि त्यसको मर्मतका लागि भन्दै जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीले पानीको सतह एक मिटर घटाएको हो । पानीको सतह घटेपछि तलको किनार कहीँ चार मिटरदेखि कतै ५० मिटर परसम्म पुगेको छ । ताल किनारका अधिकांश भाग समुद्रका बिचजस्ता देखिएका छन् । ताल किनारमा लेदो माटोसँगै रहेका डुंगाहरू हिलो माटोमा गाडिएको अवस्थामा रहेका थिए । 

प्रकाशित मिति: : 2021-02-08 20:55:00

प्रतिकृया दिनुहोस्