श्रम मन्त्री चौधरीले २ लाखको कार्पेट फेरे, कानून मन्त्री श्रेष्ठको निवासमा २ लाखकै खाट थपियो

लोकान्तर

काठमाडाै‌ं

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले मन्त्री बनेसँगै पुल्चोकस्थित मन्त्री निवासमा कार्पेट परिवर्तन गर्न लगाएको खुलेको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय स्रोतले दिएको जानकारीअनुसार मन्त्री चौधरीको निवासमा २ लाख रुपैयाँको नयाँ कार्पेट ओच्छ्याइएको हो । 

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत भीभीआईपी तथा भीआईपी निवासको सम्पूर्ण व्यवस्थापन सोही कार्यालयले हेर्दै आएको छ ।

'१४५ रूपैयाँ प्रतिवर्गफिट मूल्य पर्ने नेपाली कार्पेट ३ वटा कोठामा लगाउँदा २ लाख रूपैयाँ खर्च भएको छ,' स्रोतले लोकान्तरलाई भन्यो । 

यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले २ लाख रूपैयाँका २ थान 'लो बेड' खाट किन्न लगाएका छन् ।

मन्त्री श्रेष्ठको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि भनेर ती खाट खरिद गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीको निवासमा १ थान इलेक्ट्रिक गिजर, ६ थान मल्टिप्लक नयाँ जडान गर्नुका साथै कतिपय कुराहरू मर्मत समेत गराइएको छ।

त्यसबाहेक मन्त्री रायमाझीले ४ थान डोरम्याट मगाएका छन् ।

मन्त्री रायमाझी सुत्ने दुईवटा कोठाको बेड र टेलिभिजन समेत मर्मत गरिएको स्रोतले बतायो ।

रायमाझीले मन्त्री निवासमा प्रवेश गर्नुअघि निवास धुलाइ गर्न लगाएका थिए ।

प्रकाशित मिति: : 2021-02-09 18:51:00

प्रतिकृया दिनुहोस्