विदेश जाने रकम ठगिएपछि यसरी अपराधमा जोडिए चिजबहादुर

पहिलोपोष्ट

काठमाडाैं

काठमाडौं : करिब तीन वर्षअघि गोरखा बजिरकोटका ३८ वर्षीय चिजकुमार गुरुङ विदेश जाने सपना लिएर काठमाडौं ओर्लिए। कुन देश जाने? कसरी जाने दोधार थियो नै। त्यही क्रममा बसपार्कमा रेणु सारु मगर भन्ने महिलासँग उनको भेट भयो।

रेणुले चिजबहादुरलाई विदेश पठाइदिने मानिससँग भेटाइदिने विश्वास दिइन्। चिजबहादुर ढुक्क भए। केही दिनमा नै रेणुले एक पुरुषसँग चिनजान गराइदिइन्। ती पुरुष थिए- शेख सम्शेर आलम। घर भारत। आलमले चिजबहादुरलाई इरान पठाइदिने वचन दिए।

राम्रै कमाई हुने देखेपछि उनी पनि लोभिए इरान जान।

तर चिजबहादुरको लागि इरान यात्रा निकै खर्चिलो बन्दै थियो। १३ लाख रुपैयाँ लाग्ने भयो। जसोतसो गरेर आलमलाई पैसा बुझाए। अनि इरान गएर मेहनत गरेपछि पैसा कमाउने योजना बनाए। दिन बित्दै गयो तर चिजबहादुरको विदेश उड्ने दिन आएन। एकाएक आलमले नै खबर गरे विदेश नहुने भयो। अनि पैसा पनि डुब्यो।

अब के गर्ने? त्यतिकैमा रेणु र आलमले नै उनलाई पैसा कमाउने जुक्ति दिए। उनीहरु पैसा कमाउने उपाय सजिलो पक्कै थिएन। त्यसमाथि गैर कानुनी। चिजबहादुरले डुबेको पैसा उठाउन त्यही बाटो रोजे। जसको कारण उनी अहिले प्रहरी हिरासतमा छन्।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले माघ २५ गते काठमाडौंको टोखा नगरपालिकाबाट चिजबहादुरलाई नियन्त्रणमा लियो। उनको कोठाबाट लागूऔषध एम्फेटामाइन १० ग्राम, एम्फेटामाइन २२२ ग्राम र लागूऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद गरेको छ।

प्रकाशित मिति: : 2021-02-15 08:50:00

प्रतिकृया दिनुहोस्