वैदेशिक रोजगारको प्रलोभन देखाएर मानव बेचबिखन गर्ने सुवेदी पक्राउ

File Photo
File Photo

पछिल्लो समय नेपालमा महिला बेचबिखनका घटनाहरु तिव्र रुपमा बढदै गएपछि प्रहरीले मानव तस्करहरु माथी निगरानी बढाएको छ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर महिलाहरुलाई अलपत्र पारेको आरोपमा खेम बहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

कुवेत लैजाने भन्दै श्रीलङका पुर्याएर एक महिलालाई अलपत्र पारेको आरोपमा उनलाई पक्राउ गरिएको हो। बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका ३ घर भएका सुवेदीलाई उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ  गरिएको थियो। 

कुवेतमा घरेलु कामदारको लागी लैजाने भन्दै सुवेदीले एक महिलालाई काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट पनि चेन्नाई हुँदै श्रीलङ्का पुर्याएर अलपत्र पारेका थिए।

श्रीलङ्का पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलङ्काली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो।

ती महिला श्रीलङ्काको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्यूरोले जनाएको छ।

महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो। ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ।     

प्रकाशित मिति: : 2021-02-16 09:36:00

प्रतिकृया दिनुहोस्