फैसलाले मुलुकलाई सङ्कटबाट जोगायो : वरिष्ठ नेता पौडेल

Suvadin

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वाेच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताएका छन्। 

सिरहामा आज पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद्् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताए। 

'सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो' पौडेलले भने, 'अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ।'

 न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उहाँको कथन थियो। नेपालमा राजनीतिक स्थायित्व, प्राप्त उपलब्धिको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफ्नो पार्टी केन्द्रित रहेको उल्लेख गदै उनले मुलुकको बदलिँदो परिस्थितिमा कांग्रेसले लोकतान्त्रिक पद्धति, सङ्घीय पद्धतिको रक्षाका लागि दृढतापूर्वक अघि बढ्ने बताए। 

मधेशलाई बचाउने र जोगाउने काम नेपाली कांग्रेस मात्र गर्नसक्ने दाबी गर्दै उनले मधेश र कांग्रेस एक अर्काबीच पारिस्परिक सम्बन्ध रहेको जिकिरसमेत गरे। 

मधेशवादी दलहरु मधेशको मुद्दा छोड्नुको साथै आफ्नो पार्टीको नाममा पनि मधेशी शब्द छोडेको आरोप लगाउँदै मधेशवादी दलले मधेश र मधेशी जनताको पक्षमा काम गर्नसक्ने टिप्पणी गरे। रासस 

प्रकाशित मिति: : 2021-02-24 20:43:00

प्रतिकृया दिनुहोस्