नेपाली कामदार वैदेशिक रोजगारीमा जाने मुख्य रोजगारदाता देशले कोरोना भाइरस नियन्त्रणका लागि नयाँ नियम बनाएर लागू गरिरहेका छन्। रोजगारदाता देशले कोरोना नियन्त्रणका लागि बनाएको नयाँ नियमको प्रभाव नेपालको वैदेशिक रोजगार क्षेत्रमा देखा पर्न थालेको छ।
नेपाली कामदार रोजगारीमा जाने कतिपय देशले कोरोनाका कारण विदेशी कामदार लिएका छैनन्। केही देशमा काम गर्न जानेले पनि तीन पटकसम्म पीसीआर परीक्षण र महँगो शुल्क तिरेर क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था छ।
कोरोनाका कारण रोजगारदाता देशमा बेरोजगारी दर बढ्दा नेपालको वैदेशिक रोजगार क्षेत्रमा ठूलो प्रभाव परेको छ। कोरोनाका कारण तीन महिनामा १० लाख कोरियन नागरिकले रोजगारी गुमाएका छन्। यसको प्रभाव कोरिया जाने कामदारमा देखिएको छ।
वैदेशिक रोजगार विभागका अनुसार यही माघ महिनामा १ हजार ४ सय ५१ महिला र १६ हजार ४ सय ३६ पुरुष गरी १७ हजार ८ सय ८७ जना रोजगारीको खोजीमा विभिन्न देश पुगेका छन्।