'आकाशले उठायो कि पातालले निल्यो' महोत्तरीका झा दम्पतीलाई

विजय साह

जनकपुर

महोत्तरीको पिपरा गाउँपालिका ५, सहोडवाका झा दम्पती घरमा सुतेकै ठाउँबाट बेपत्ता भएको आज पाँच दिन पुगेको छ।

सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० बर्षीया गीतादेवी गएको सोमबार राति घरबाटै बेपत्ता हुन्।

उनीहरुको अवस्था अझै अज्ञात छ। उनीहरुलाई आकाशले उठायो कि पातालले निल्यो ? घटना रहस्यमय बनेको छ।

घटनाको जानकारी पाएलगतै अनुसन्धानमा खटिएका प्रहरीले यतिका दिन बितिसक्दा पनि उनीहरुको अवस्थाबारे ठोस जानकारी प्राप्त नभएको प्रहरीको भनाइ छ।

अनुसन्धानमा प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय सोहडवाको प्रहरी टोली खटिएको छ।

मंगलबार बिहान प्रदेश प्रहरीका तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत घटनास्थल पुगेको थियो। तालिम प्राप्त कुकुर घरदेखि अलि टाढा रहेको एक पोखरीको डिलमा गएर रोकिएका थिए।

पोखरीको डिलमा रोकिएपछि प्रहरी टोलीले पोखरीमा पनि चहारे तर उपलब्धि हाँसिल भएन।

रातको समय पर्खाल नाघेर अज्ञात व्यक्ति घरमा पसेको र दम्पतीलाई कुटपिट गर्दै घिसारेर लगिएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ।

उनीहरू सुतेको कोठामा रगतका छिटाजस्तो देखिएकाले दम्पतीको हत्या गरी बेपत्ता पारिएको हुनसक्ने आशंका पनि प्रहरीले गरेको छ। झालाई कोठाबाट घिसारेर लगिएको चिनो अझै स्पष्ट छ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रमुख एसपी टीकाबहादुर केसीले अहिलेसम्म १२ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिसके पनि सत्यतथ्य पत्ता लागि नसकेको बताए।

प्रमाण नष्ट हुन नपाओस् भनेर प्रहरीले बेपत्ता झा दम्पतीका दुवै कोठामा ताला लगाएर चौबीसै घण्टा घरको चारैतिर पहरा दिइरहेका छन्। प्रहरीले गाउँमा आउजाउ गर्नेमाथि कडा निगरानीसमेत राखेको छ।

झा दम्पती अलग–अलग कोठामा सुतेका थिए। कोठाको छेउमै उनकी बुहारी सुतेकी थिइन्।

मंगलबार बिहान आफूहरू उठेपछि नदेखेको र कोठामा खोज्न जाँदा ओछ्यानमा पनि नदेखेपछि छिमेकीलाई भनेको झाका दुवै जना बुहारीले प्रहरीलाई बयान दिएका छन्।

झा सुतेको कोठासँगै टाँसिएको कोठामा सुतेकी बुहारीले तोसक, सिरक, झुल, तन्नालगायतका कपडासहित सासू–ससुरा बेपत्ता हुँदासमेत थाहा नपाएको बताएपछि छिमेकी तथा प्रहरी पनि चकित छ।

शुक्रबारसम्म पनि कुनै खबर प्राप्त नभएपछि स्थानीय भयभीत छन्। घटनामा संलग्न व्यक्ति तथा कारणबारे कसैले यकिनका साथ भन्न सकेका छैनन्।

मालपोतका अवकाशप्राप्त कर्मचारी झा एक मोही जग्गा विवाद मुद्दामा साक्षी बसेका थिए। विपक्षीसँग केही दिनअघि उनको विवाद पनि भएको थियो।

महोत्तरीकै बगराको जग्गा विवादमा झा साक्षी बसेकाले घटनामा सोही विवादका विपक्षीको हात हुनसक्ने परिवारको आशंका छ।

घटना रहस्यमय देखिएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताएको छ। चलाखीपूर्ण तवरले घटना भएकाले अनुसन्धान पनि जटिल बन्दै गएको छ।

प्रदेश– २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पर्सामा कार्यरत नाताले मुसाफिरका भतिज सई अशोक झालाई पनि अनुसन्धानमा खटाइएको छ।

‘घटनाको अनुसन्धानमा अहिलेसम्म खासै प्रगति छैन। अनुसन्धानमा सहयोग मिल्ला भनेर वीरगञ्जबाट उनका भतिजलाई पनि बोलाएका छौँ,’ डीआईजी सिंहले भने, ‘हामीले केही मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छौँ।’

उनले प्रहरीसमेत घटनामा शंकाको घेरामा रहेको र दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको भनी चलेको हल्लाबारे कुनै सत्यता नरहेको स्पष्ट पारे।



महोत्तरीमा सुतेकै ठाउँबाट झा दम्पती बेपत्ता

प्रकाशित मिति: : 2021-02-26 15:54:00

प्रतिकृया दिनुहोस्