गर्भपतनको आरोपमा तीन पक्राउ

Symbolic photo

सप्तरीको महादेवा गाउँपालिका–४ की २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका तीन जनालाई आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउत रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आरोपितमध्ये तीन पक्राउ परेकोता पनि ४० वर्षीय सुरेन्द्र साह फरार रहेको जनाएको छ

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँ बारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरूलाई रोक्न खोज्दा कुटपिट गरेको पीडितले बताएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। 

आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको पीडितले बताएकी थिइन्। उनले दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-27 19:48:00

प्रतिकृया दिनुहोस्