ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका डाक्टर नै ‘नक्कली’

नेपाल लाइभ

काठमाडाै‌ं

धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका डाक्टर नै ‘नक्कली’ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मुद्दा दर्ता गरेको छ।

तत्कालीन समयमा ग्राण्डीमा कार्यरत रहेका डाक्टर विजयश्याम रन्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिई काम गरेको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा दर्ता गरिएको सिआइबी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘डा रन्जितले अर्कैको नामको दर्ता नम्बर राखी काम गरेको पुष्टि भएपछि मुद्दा दर्ता गरेका हौं,’ सिआइबी स्रोतले नेपाल लाइभलाई भन्यो।  

डाक्टर रन्जितले एनएमसीको नक्कली दर्ता नम्बर लिएर काम गरेको पाइएपछि लिखतसम्बन्धी कसुरको आरोपमा सिआइबीले एक साताअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

२०७१ सालदेखि रन्जितमाथि सिआइबीले अनुसन्धान सुरु गरेको थियो। २०७१ सालमा नक्कली डाक्टरविरुद्ध सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा थुप्रै नक्कली डाक्टर पक्राउ परेका थिए। 

त्यही बेला डाक्टर रन्जित पनि अनुसन्धानमा तानिएका थिए। त्यसबेला ग्राण्डी अस्पतालमा कार्यरत रहेका रन्जितको आधिकारिकता खुलाई विवरण पठाउन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७१ फागुन ११ गते नेपाल मेडिकल काउन्सिल र ग्राण्डी अस्पतालको नाममा पत्र काटेको थियो। त्यसबेला सम्बन्धित निकायबाट सहयोग नभएको भन्दै सिआइबीले उक्त फाइल अघि बढाउन सकेको थिएन। पछि अनुसन्धानको क्रममा डाक्टर रजिन्तले डाक्टर लक्ष्मी केसीको नाममा काउन्सिलमा रहेको दर्ता रहेको नम्बर १०८५५ नम्बर प्रयोग गरेर काम गरेको खुलेको थियो।

प्रकाशित मिति: : 2021-03-01 15:32:00

प्रतिकृया दिनुहोस्