सरकार सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध छ: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल द्विपक्षीयस्तरमा आफ्ना छिमेकी र विश्वका अन्य सबै देशसँग मैत्री सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको बताएका छन्। 

नेपाल विश्व सम्बन्ध परिषद्को ७३औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधनका क्रममा उनले नेपालको संविधानले राष्ट्रिय हितका मुल आधारभूत परिभाषाका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र, असम्लग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिका मापदण्डमा निहित सिद्धान्तहरूको पालनाका साथ स्वतन्त्र परराष्ट्र नीतिको अनुशरण गर्न मार्गदर्शन गरेको बताए।

पछिल्लो चरणमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्ध थप सौहार्द बनेको धारणा व्यक्त गर्दै उनले नेपालले आफ्नो भूमिमा छिमेकीविरूद्ध कुनै गतिविधि नगर्न प्रतिबद्धता पुरा गरेको बताए।

भारतसँगको उच्चस्तरीय आर्थिक साझेदारीले नेपालले महत्वपुर्ण परियोजनामा राम्रो प्रगति हासिल गरेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले चीनसँग पनि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। रासस

प्रकाशित मिति: : 2021-03-01 20:48:00

प्रतिकृया दिनुहोस्