जलविद्युत् आयोजनाको केन्द्र बन्दै सुदूरपश्चिम 

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको केन्द्र बन्दै गएको छ। प्रदेशका पहाडी जिल्लामा दर्जनौंँ आयोजना निर्माणाधीन छन् भने कतिपय निर्माण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ।

जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ। बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालङ्गा, बूढीगङ्गालगायत अन्य साना नदीबाट हजाराँै मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ। 

बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी र  बाजुरामा केही जलविद्युत् आयोजना निमार्णाधीन  छन्। कतिपय जिल्लामा आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माण शुरु हुने अवस्था छ। यसरी काम शुरु भइसकेको र सम्भाव्यता अध्ययन भइरहेका आयोजनाको काम समयमै सम्पन्न भए सुदूरपश्चिम प्रदेश देशकै सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने प्रदेशका रूपमा परिचित हुने उज्यालो सुदूरपश्चिमका अभियानकर्मी तथा कालङ्गा जलविद्युत् आयोजनाका संस्थापक वीरेन्द्र मल्लले जानकारी दिए। 

बझाङमा मात्रै झण्डै एक दर्जन जलविद्युत् आयोजना निमार्णका चरणमा छन्। निजी क्षेत्रको लगानीबाट निर्माणाधीन प्रदेशकै सबैभन्दा ठूलो आयोजना कालङ्गा आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाले चैतभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। । रासस

प्रकाशित मिति: : 2021-03-04 14:38:00

प्रतिकृया दिनुहोस्