'नदी सप्तक' कविता शृङ्खला- १४

एक्काईसौँ शताब्दीको शासक

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।

त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।

यस अन्तर्गत चाैधाैँ श्रृंखलामा कवि अमृत क्षेत्रीकाे कविताः

एक्काईसौं शताब्दीको शासक

हाम्रो हितमा बोलोस् 
हाम्रो दु:खमा थपथपाउन आओस् 
हाम्रो घाउमा मलम लगाओस् 
हामीले नजानेका कुरा सिकाओस् 
हाम्रा नानीहरु झैं सुकोमल बनोस्
भनी पठाएको ऊ 
सिंहदरबारमा सिंह बनेर गर्जन्छ 
र, हामीलाई नै तर्साउँछ

ऊ कहिलेकाहीँ हाम्रो पखेरातिर आउँछ 
र हाम्रो जीविका चलेको नदीलाई 
कता हो कता लैजान्छु भन्छ 
आदिम संस्कृति बोकेर पुजेको नदीलाई 
गिद्दे आँखा लगाउँछ 
आफ्नो सुनौलो सभ्यता बोकेको युगलाई 
अचानक भत्काउन खोज्छ

ऊ बेलाबेला एउटा-एउटा निहुँ पारेर 
अचेल हुरी झैं आउँछ 
बच्चालाई तर्साए झैं 
हाम्रो अनुहारमा भय छोडेर 
आफ्नो अनुहार हँसिलो बनाउँछ

उसलाई हाम्रो मुस्कानले पोल्छ 
जब हाम्रा खुसीहरुमा उत्सव आउँछन् 
तब ऊ कालोनिलो हुन्छ 
ऊ हाम्रो पौरखले जोगाएको 
यो नदी थुन्छु भन्छ 
हामीले पुजेको थलो बेच्न खोज्छ 
हामीले हिँडेको बाटो भत्काउन खोज्छ

म, हामी र तपाईंहरुले रोजेको 
ए शासक ! 
जब जनताको अनुहारमा कालो बादल मडारिन्छ नि 
तब तेरो अन्त्य निश्चित छ । 

यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः

प्रकाशित मिति: : 2021-10-02 17:03:00

प्रतिकृया दिनुहोस्