अर्थमन्त्री विष्णु पौडेललाई ढुङ्गा प्रहार, २ मिनेट भाषण गरेर बाहिरिए

Photo - Onlinekhabar.com
Photo - Onlinekhabar.com

अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले  ढुंगा प्रहार गरेका छन्।

भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए। तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो।

स्थानीयहरूले अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेश सांसद तुलसी चौधरी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नन्द किशोर बस्नेत विरुद्ध चर्को नाराबाजी गर्दै, शिलान्यास कार्यक्रम बहिष्कार गरेका थिए।

कार्यक्रम स्थल नाराबाजीले तनाव सृजना हुँदा बाक्लो रूपमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो।

कडा सुरक्षाका साथ स्थानीयहरूको असहमति बिचमा अर्थमन्त्री पौडेलले अन्ततः मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरिछाडे।

सो क्रममा स्थानीय र प्रहरी बीच ढुङ्गा हानाहान समेत भएको छ।

अर्थमन्त्री विष्णु पौडेल बसेको मञ्चमा नै ढुङ्गा हान्न थालेपछि मन्त्री पौडेल भाषण गर्न छोडेर बाहिरिएका हुन्।

ढुङ्गा हानाहानमा एक प्रहरी र एक स्थानीय घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै, आक्रोशित स्थानीयहरूले अर्थमन्त्री पौडेलले शिलान्यास गरिएको शिलालेख समेत तोडफोड गरेका छन्।

यसैबिच शिलान्यास कार्यक्रमलाई बहिष्कार गर्दै बिथोल्न बिहीबार साँझ स्थानीयहरूले कार्यक्रम मञ्च समेत भत्काई दिएका थिए।

प्रकाशित मिति: : 2021-03-05 17:46:00

प्रतिकृया दिनुहोस्