अमेरिकी सिनेटमा रेस्कु प्लान पारित : १,४०० को स्टिमुलस चेक आउने पक्का

अमेरिकामा इतिहासकै ठूलो राहत प्याकेज 'द अमेरिकन रेस्क्यु प्लान' कार्यन्वयनमा आउने भएको छ।

१.९ ट्रिलियन डलरको यो राहत प्याकेज अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा पारित भएपछि यो कार्यान्वयनमा आउन लागेको हो।

पार्टीगत रूपमा भएको मतदानको पक्षमा ५० डेमोक्रेटले मतदान गरे भने विपक्षमा ४९ रिपब्लिकन सिनेटरको मत पर्यो। ५०- ५०को संख्यामा रहेको सिनेटमा अलास्काका रिपब्लिकन सिनेटर भने अनुपस्थित रहे। उनी एक पारिवारिक मृत्यु संस्कारमा सहभागी हुन जानुपर्ने भएपछि मतदानमा सहभागी भएनन्। उनी सहभागी भएको भए ५०-५०को स्थितिमा उपराष्ट्रपति कमला ह्यारिसले मतदान गरी प्रस्तावको पक्षमा मतदान गर्दा प्रस्ताव ५१-५० ले पारित हुने थियो। तर, रिपब्लिकन सिनेटर  अनुपस्थित भएपछि त्यो परिस्थिति नै आएन।  

यसअघि वेष्ट भर्जिनियाक दक्षिणपन्थी डेमोक्रेट सिनेटर मान्चिनले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गरी पठाएको विधेयकका केही प्रावधानमा संशोधन गरे मात्र आफू पक्षमा मतदान गर्ने भनेपछि ११ घण्टासम्म सौदाबाजी गर्नुपरेको थियो। उनका कारण उच्च मध्यम आय भएका लाखौ अमेरिकी यो राहत प्याकेजबाट बञ्चित भए।

माथिल्लो सदन सिनेटमा संशोधित विधेयक पारित भएकाले अब यो विधेयक फेरि एकपटक तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले पारित गर्नुपर्ने भएको छ। त्यसका लागि मंगलबार मतदान हुने सभामुख न्यान्सी पेलोसीले बताएकी छिन्। तल्लो सदनमा डेमोक्रेटिक पार्टी झिनो बहुमतमा भएकाले त्यहाँ पारित हुने लगभग निश्चित छ।

तर, माथिल्लो सदनले गरेको दक्षिणपन्थी संशोधन र प्रति घण्टा न्यूनतम ज्याला १५ डलर बनाउने प्रस्ताव विफल बनाएकोमा तल्लो सदनका प्रगतिशील डेमोक्रेटहरू खुशी छैनन्। यद्यपि, उनीहरूसँग अहिलेको अवस्थामा यही विधेयको पक्षमा मतदान गर्नुको विकल्प छैन।

यो राहत प्याकेजमा अरू सुविधा भए पनि आम अमेरिकीको ध्यान भने स्टिमुलस चेक भनिने राहत चेक र बेतलवी भत्तामै केन्द्रित छ। यो विधेयकले एकल कर दाखिला गर्नेको हकमा वार्षिक ७५ हजार, दम्पतिको हकमा एक लाख ५० हजार र घरमुलीको हकमा एकलाख २० हजार आम्दानी हुनेले प्रतिव्यक्ति एकहजार चारसयको राहत चेक पाउँने छन्। यस्तो चेक बढीमा दुईजना छोराछोरी वा आश्रित परिवारलाई पनि दिइनेछ। यसो गर्दा एउटा परिवारमा पाँचहजार ६ सयसम्मको चेक आउने छ।

यसअघि अमेरिकी करदाताले दुईपटक स्टिमुलस चेक पाइसकेका छन्। पहिलोपटक वयस्कलाई एकहजार दुईसय र नावालिगलाई ६ सय दिइएको थियो भने दोस्रोपटक हरेकलाई ६सय दिइएको थियो। तेस्रोपटक अहिले दिन लागिएको स्टिमुलस चेक दुइहजारको बाँकि एकहजार चार सय हो। दोस्रोपटक दिइएको ६ सयलाई यसैको भाग मानिएको छ।

राहत प्याकेजमा १४ सय डलरको राहत चेकका अतिरिक्त बेरोजगारी विमामा थप साप्ताहिक ३ सय सय डलर बेरोजगार भत्ता दिने व्यवस्था पनि गरिएको छ। यस्तो भत्ता सेप्टेम्बर ६ सम्म प्रदान गरिने छ। यसैगरी एक लाख ५० हजारभन्दा कम आम्दानी हुने परिवारको हकमा सुरुको १० हजार दुईसयसम्मको रकममा कर नलाग्ने प्रावधान पनि रहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी प्रतिवद्धता रहेकाले यो विधेयक उनको समथर्नमा आएको थियो । सिनेटमा विधेयक पारित भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै उनले आफूले अमेरिकी जनताको पक्षमा गरेको वाचा पूरा हुन लागेको बताए। यसले अमेरिकी जनता र अर्थतन्त्रलाई ठूलो राहत हुने बताउँदै उनले मार्च १४ सम्ममा आफूले विधेयकमा हस्ताक्षर गरिसक्ने पनि बताए।

विधेयक तल्लो सदनमा पारित भएपछि सदर गर्का लागि राष्ट्रपतिकोमा पुग्नेछ। उनले हस्ताक्षर गरेपछि यो कानून हुनेछ र कार्यन्वयनमा आउने छ।

अमेरिकी करदाताले मार्चको तेस्रो साताभित्रै स्टिमुलस चेकको पैसा करदाखिला गर्दा प्रयोग भएको बैंक खातामा जम्मा हुने अमेरिकी आन्तरिक राजश्व विभाग (आइआरएस) ले बताएको छ। बैक खाता नहुनेलाई पेपर चेक वा डेविट कार्ड पठाइने पनि बताइएको छ।

 

प्रकाशित मिति: : 2021-03-07 06:01:00

प्रतिकृया दिनुहोस्