झलनाथ खनालले भने, ‘नेता त म एमालेकै हो नि!’

File Photo
File Photo

ऋषि कट्टेललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दिने सर्वोच्चको निर्णयपछि पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनालले आफू एमाले नै रहेको प्रतिक्रिया दिएका छन्। 

उनले बिएल नेपाली सेवालाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘नेता त म एमालेकै हो नि।’ अहिले आफू छलफलका क्रममा रहेको पनि उनले बताए। हाल उनी प्रचण्ड–माधव समूहमा छन्।

आफूभन्दा पछिल्लो मर्यादा क्रममा रहेका माधव नेपाललाई अध्यक्ष बनाएपछि उनी असन्तुष्ट छन्।



माधव नेपालले भने– ‘म बोल्दिनँ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विषयलाई लिएर भएको विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलले प्रतिनिधित्व गरेको नेकपालाई आधिकारीकता दिने निर्णय गरेपछि पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव कुमार नेपालले तत्काल कुनै प्रतिक्रिया नजनाउने बताएका छन्। 

नेकपाको नामको विषयमा विगत दुई वर्षभन्दा लामो समयदेखि चलिरहेको विवादमा आइतबार सर्वोच्च अदालतले निर्णय सुनाएको हो। हाल सरकारको प्रतिनिधित्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा र ऋषि कट्टेलले दर्ता गरेको नेकपाबीच नामको विषयलाई लिएर विवाद उब्जिएपछि कट्टेल अदालत गएका थिए। 

२०७५ जेठ ३ गते केपी ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको थियो। 

हाल सरकार सञ्चालनमा विवाद भएपछि नेकपा एमालेका पूर्व अध्यक्षसमेत रहिसकेका माधव नेपाल प्रचण्डको गुटमा उभिएका छन्। उनी केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सक्रिय भएर लागेका छन्।

तर, सर्वोच्चको निर्णयपछि नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। नेकपाको आधिकारीकता ऋषि कट्टेलमा रहने सर्वोच्चको निर्णयपछि पार्टी एकीकरण गरेका नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन्। 

यस अवस्थामा माधव नेपालको भूमिका के रहने भन्ने विषयमा बिएल नेपाली सेवाले प्रश्न गरेको थियो। ‘तपाई पूर्व एमाले नै आफूलाई सम्झिनु हुन्छ कि माओवादी केन्द्रमा जानु हुन्छ भनेर बिएल नेपाली सेवाले गरेको प्रश्नमा नेपालको उत्तर थियो, ‘म बोल्दिनँ।’ उनले आफू छलफलका क्रममा रहेको र आधिकारीक धारणा नबनाई नबोल्ने बताए।



सुवास नेम्वाङले हाँस्दै भने– अब प्रचण्डजी संसदीय दलको नेता हुनुभो

नेकपा ऋषि कट्टेललाई, एमाले–माओवादी एकीकरण भङ्ग

प्रकाशित मिति: : 2021-03-07 16:43:00

प्रतिकृया दिनुहोस्