अयोध्यामा श्रीराम विश्वविद्यालय खुल्दै, मुख्यमन्त्री योगीले तयार पारे प्रस्ताव

Photo : Arun Kumar
Photo : Arun Kumar

मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेश (युपी) सरकारले अयोध्यामा भगवान श्रीरामको नाममा विश्वविद्यालय खोल्ने योजना बनाएको बताएका छन्।

प्रस्तावित विश्वविद्यालयमा भगवान श्रीरामसँग सम्बन्धित शास्त्र, संस्कृति, आस्था र धार्मिक तथ्यको विषयमा अध्ययन तथा अनुसन्धान हुने बताइएको छ। 
विश्वविद्यालयले मर्यादा पुरुष श्रीरामको जीवन तथा विचारलाई अध्यापन गराउने युपीका उप-मुख्यमन्त्री डा. दिनेश शर्माले बताए। ‘विश्वविद्यालयमा हिन्दु धर्म र संस्कृतिबारे अध्ययन हुनेछ,’ उनले भने।

मुख्यमन्त्री योगीले तयार पारेको श्रीराम विश्वविद्यालयको निर्माण कार्यमा सरकारका साथै निजी क्षेत्रको पनि लगानी हुने बताइएको छ। अयोध्यामा रहने सन्त तथा साधुहरूले मुख्यमन्त्री योगीको योजनालाई स्वागत गरेका छन्।

विश्वविद्यालयमा पढ्ने युवा पुस्तालाई श्रीराम र हिन्दु संस्कृतिसँग परिचित गराउने उद्देश्य रहेको राम मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासले बताए।

‘श्रीरामको नाममा बन्ने विश्वविद्यालयको कदमले आफूलाई खुसी तुल्याएको महन्त परमहन्सले बताए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगीलाई धन्यबादसहित चिठ्ठी पठाएका छन्।

प्रकाशित मिति: : 2021-03-09 17:07:00

प्रतिकृया दिनुहोस्