कृषि फार्ममा आगलागी हुँदा नौ लाखको क्षति

रासस

इनरुवा
फाइल तस्वीर
फाइल तस्वीर

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ। स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ। 

आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चार वटा भैँसी र दुई वटा बोकासमेत जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

आगलागीमा परेर फार्म सञ्चालक अमरबहादुर कार्कीसमेत घाइते भएको प्रहरीले जनाएको छ । फार्ममा लागेको आगो निभाउने क्रममा कार्कीको पछाडिको भाग पूरै र अगाडिको भाग सामान्य जलेर क्षति भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। सोही घटनामा परेर हरिबहादुर खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते कार्कीलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। स्थानीवासी, वारुणयन्त्रण र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।
 

प्रकाशित मिति: : 2021-03-14 15:00:00

प्रतिकृया दिनुहोस्