नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताएका छन्।
झापा दमक–३ मा सञ्चालित मानसरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज यहाँ अवलोकन गर्दै राजदूत गोडरले कृषि क्षेत्रबाट देशलाई आर्थिक रुपान्तरण गर्न प्रशस्त सम्भावना भएको र त्यसमा जोड दिनुपर्ने उल्लेख गरे।
सहकारी संस्थाले आधुनिक तवरबाट खेती गरेकामा प्रशंसा गर्दै उनले भने, 'इजरायलमा ७० वर्षअघिसम्म खाद्यान्नको अभाव रहेको र हाल आएर निर्यातसमेत गर्नसक्ने भएको छ।'
त्यसक्रममा राजदूत गोडेरले कृषि खेतीका बारेमा सहकारी संस्थाका सञ्चालकसँग अन्तरक्रियासमेत गर्नुभएको सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले बताए।
सो सहकारीले नेपाल सरकारको अनुदानबाट जैविक कृषि उत्पादन र बजारीकरण गर्दै आएको छ। अवलोकन भ्रमणमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदी, कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहलगायतले कृषिको आधुनिकीकरणमा प्राङ्गारिक उत्पादनमा जोड दिन सके कृषि क्षेत्रमा रोजगारीको अवस्था बन्दै जाने उल्लेख गरे। रासस