ह्यामरले हानेर पत्नीको हत्या, गहना र नगद लुटेर फरार (भिडियाेसहित)

सम्बन्ध विच्छेदको क्रममा रहेकी आफ्नै पत्नीको हत्या ह्यामर प्रहारबाट गरी उनका गरगहना लुटेर भागेका एक अभियुक्तलाई प्रहरी पक्राउ गरेको छ।

प्रहरीका अनुसार, पत्नीको हत्या गरी साथमा रहेका गरगहना लिएर फरार रहेका काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीका सन्तोष सापकोटालाई प्रहरीले पक्राउ गरेको हो।

उनले हत्यापछि पत्नीको साथमा गहेका गरगहना, नगद र मोबाइल फोनसमेत लिएर फरार भएका थिए।

सन्तोषले गत सोमवार ३२ वर्षीया आफ्नै पत्नी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेको प्रहरीको आरोप छ।

सम्बन्ध–विच्छेदको विषयमा विवाद हुँदा सन्तोषले पत्नीको हत्या गरी बोरामा हालेर  फ्याँकेका थिए । हत्यापछि भागेका सन्तोषलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले पक्राउपछि बुधबार सार्वजनिक गरेको हो।

प्रहरीले मृतक सन्तोषीको शव सोमबार साँझ सुकुम्बासी बस्तीस्थित घर नम्बर ३ मा फेला पारेको थियो। उक्त शब नारायण सापकोटाको घरको पछाडिको कोठामा भेट्टाएको थियो।

प्लास्टिकको डोरीले बाँधेर डल्लो पारी बोराभित्र ‘प्याक’ गरेको अवस्थामा शब भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, शबको टाउकामा गहिरो चोट लागेको थियो । घाँटीमा पनि कोतारेको जस्तो डाम रहेको भेटिएको थियो। घटनास्थल नजिकैबाट रगत लत्पतिएको ह्यामर समेत फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ह्यामरले टाउकोमा प्रहार गरी हत्या गरेको हुनसक्ने देखिएको छ। पक्राउ परेका सापकोटाले प्रहरीसमक्ष पत्नीको हत्या स्वीकार गरिसकेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने, ‘अभियुक्त सापकोटाले डिभोर्स (पारपाचुके) को विषयमा झगडा हुँदा आवेगमा हत्या गरेको बताएका छन्।’

मृतक सन्तोषी पतिसँग राम्रो सम्बन्ध नभएका कारण केही समयदेखि जोरपाटीस्थित माइतमै बस्दै आएकी थिइन्। प्रहरीको अनुसन्धानका अनुसार, घटनाको दिन बिहान करिब साढे ७ बजे मात्र उनी जोरपाटीबाट बल्खु हिँडेकी थिइन्।

सन्तोषीको हत्यापछि उनका पति फरार भएका थिए । त्यसपछि प्रहरीले उनको खोजी थालेको थियो।

सन्तोषले पत्नी–हत्यापछि उनले कानमा लगाएको सुनको मुन्द्री, हातको बाला र नगद २३ हजार रुपैयाँ लिएर फरार भएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। पत्नीको हत्या अभियोगमा पक्राउ परेका सन्तोष लागूऔषधको दुर्व्यसनीसमेत भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-17 17:55:00

प्रतिकृया दिनुहोस्