आमनिर्वाचन मङ्सिर ४ :

मनिषा कोइरालाको अर्को 'आत्मघाती' निर्णय

'भोलि कात्तिक २५ गते चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाको साथमा हामी पोखरा,स्याङजा(वालिङ) र काठमाडौंको बसन्तपुरमा आयोजना हुने राप्रपाको चुनावी सभामा हुनेछौं। हामीलाई सुन्न चाहानु हुने सबैलाई चूले निम्तो गर्दछु।' 

यो ट्विट हो, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको। 

यसअघि मनिषा कोइरालाले ट्विट गरेकी थिइन्, I m taking some time off my busy schedule n heading home to participate in election campaign in favour of the Rashtriya Prajatantra Party that has got a Young, dynamic and visionary leader Rajendra Lingden. His understanding of nationalism n country’s historic and cultural.

यसैलाई रिट्विट गर्दै राजेन्द्रले बलिउड अभिनेत्री मनिषा आउने भएकाले चूले निम्तो गरे। 

यसरी आएको चुले निम्तोसँगै मनिषाले राप्रपाको चुनाव प्रचार गर्ने समाचारले एक तहको चर्चा पाएको छ। चर्चाको उठान दुई कोणबाट भएको छ। पहिलो, उनको पारिवारिक पृष्ठभूमी। दोस्रो, उनको स्टार अभिनेत्री व्यक्तित्व। 

पहिला उनको पारिवारिक पृष्ठभूमीकै कुरा गरौं। लगभग सबै नेपालीलाई थाहा छ कि मनिषा नेपाली कांग्रेसका सबैभन्दा ठूला नेता वीपी कोइरालाका नातिनी हुन्।वीपी जीवनभर राजाबाट प्रताडित भए। प्रधानमन्त्रीबाट बर्खास्त गरिए, जेल-नेल हालिए, देश निकाला भए, नजरबन्दमा राखिए। हुँदाहुँदा मरेपछि उनको मलामी जानेलाई पनि बाधा गरियो। 

तर, अचम्म अझै पनि वीपी कोइरालाकै नातिनीको 'ब्राण्डेड परिचय' बोकेर बाँचिरहेकी मनिषालाई के त्यस्तो जबर्जस्त बाध्यता आयो कि आफ्ना हजुरबुबालाई त्यस्तो प्रताडना दिने राजसंस्थाको हिमायती राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी क्याम्पेन गर्ने निर्णय गरिन्। जब कि यो चुनावमा उनका आफ्नै परिवारका धेरै सदस्य नेपाली कांग्रेसका उम्मेद्वार छन्। तर, मनिषा उनीहरूका लागि मत माग्न जान्छु भनिरहेकी छैनन्। 

मनिषाको अभिनेत्री व्यक्तित्वको कुरा गर्दा, उनले दुईवटा नेपाली चलचित्रमा अभिनय गरे पनि उनका धेरै चलचित्र हिन्दीमा छन् र उनको परिचय पनि एक सफल बलिउड अभिनेत्रीकै रूपमा स्थापित छ। राप्रपा अध्यक्ष लिङ्देनले पनि 'बलिउड अभिनेत्री' भनेरै मनिषालाई चुनावमा उपयोग गर्ने नीति लिएजस्तो देखिएको छ। उनले आफ्नो ट्विटमा मनिषालाई वीपीकी नातिनीका रूपमा सम्बोधन नगरी बलिउड अभिनेत्रीका रूपमा मात्रै प्रक्षेपण गरेका छन्। 

बलिउड अभिनेत्री मनिषा कोइरालाले राप्रपाको चुनावी क्याम्पेनमा जोडिने निर्णय गरेर राजनीतिक विरासतका रूपमा वीपी कोइरालाकी नातिनी हुन अस्विकार गर्दै प्रकाश कोइरालाकी छोरी मात्र हुने बाटो रोजेकी छिन्। व्यक्तिगत जीवनमा धेरै गल्ती गरेको भनेर कन्फेस गर्ने उनले लिएको यो अर्को 'आत्मघाती' निर्णय हो।

अब प्रश्न उठ्छ कसरी पुगिन् त मनिषा यो निर्णयमा ? यसका अनेक कारण होलान् तर मूलकारण उनले आफूलाई वीपीकी नातिनीभन्दा पनि प्रकाश कोइरालाकी छारी हुन रोजेकै हुनुपर्छ। स्मरणीय छ, उनका बाबु प्रकाश कोइरालाले कांग्रेस संवैधानिक राजतन्त्रवादी मात्र हुन सक्छ र यो नै वीपी कोइरालाको बटम लाइन थियो भनेर ब्याख्या गर्दै आएका छन्। यही  ब्याख्यामा अडेर उनी तत्कालिन राजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा मन्त्री पनि भए। अहिले पनि उनी राजावादी नै छन्। शायद यसैको प्रभाव परेर होला, मनिषा पनि पछिल्लोसमय राजा र राजसंस्थाप्रति सकारात्मक धारणा राख्दै आएकी छिन्। 

मनिषा एक वालिग सचेत महिला हुन् र उनी आफ्नो राजनीतिक विचार राख्न र त्यसअनुसारको गतिविधि गर्न स्वतन्त्र छिन्। कोही उनको विचारसँग सहमत/असहमत हुन सक्छ। यसो गर्न उनीहरू पनि स्वतन्त्र छन्।  

यो पंक्तिकार मनिषाको यो विचारको मात्र हैन, अभिव्यक्ति स्वतन्त्रताको पनि पूर्ण सम्मान गर्छ। तर, विनम्रतापूर्वक उनको विचारप्रति असहमति राख्छ। किनकि, यो पंक्तिकार के ठान्छ भने पहिला त उनी जुन पृष्ठभूमीबाट आइन्, उनका लागि यो सुहाउने कुरा हैन। दोस्रो,  राप्रपाले जुन एजेण्डा बोक्छ, त्यो पश्चगामी एजेण्डा हो र मनिषाजस्ती अग्रगामी सोच राख्ने कलाकारका लागि त्यो फिट हुँदैन। तेस्रो, नेपालमा जुन राजसंस्था चाहिने कुराको वकालत गरिन्छ त्यो सैद्धान्तिक मात्र हैन, परम्परागत रूपमा पनि गलत छ र अब त्यो सम्भव नै छैन । किनकि, राजा हुने भनेको राजाको जेठो छोरा हो। राजा वीरेन्द्र र युवराज दीपेन्द्रसहितको वंशनाससँगै अब त्यो विरासत नै बाँकि रहेन। बाँकि भएका माइला अधिराजकुमार ज्ञानेन्ल्र शंकाको सुविधा लिएर प्राविधिक रूपमा राजा भए। तर, उनले यो अवसरको सदुपयोग गर्न सकेनन्, नालायक भएर राजसंस्थाको इतिहास नै सिद्ध्याए। 

यसरी जब राजा हुने पात्र नै नभएपछि को बन्ने त राजा ? त्यसमा पनि राजतन्त्रलाई गणतन्त्रले बिस्थापित गरिसकेको अवस्था हो अहिले। यस्तो अवस्थामा कुन शक्तिले निर्मल निवासका प्राविधिक पूर्वराजालाई नारायणीहिटी दरबारमा ल्याइदिने ? यो एक मृगतृष्णा मात्र हो। 

मनिषाले व्यक्तिगत जीवनमा गल्ती गरेको भनेर धेरै पटक सार्वजनिक रूपमै कन्फेस पनि गरिसकेकी छिन्। त्यसको मूल्य तिरेर उनी क्यान्सर सर्भाइभल भइन् भने वैबाहिक जीवन पनि तहसनहस भयो। 

अहिले फेरि मनिषाले राजनीतिक कोणबाट अर्को ब्लण्डर निर्णय लिएकी छिन्। पहिलो त यो निर्णयले प्रतिगामी शक्तिको प्रक्षेपण गर्ने भएकाले यो अत्यन्त अलोकप्रिय निर्णय हो। दोस्रो, यो उनको हजुरबुबा वीपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेस पार्टी र त्यसले अंगिकार गरेको दर्शनविरूद्ध छ। तेस्रो, यो निर्णय उनका फ्यानहरूको मन दुखाउने खालको छ। 

मनिषा एक वालिग सचेत महिला हुन् र उनी आफ्नो राजनीतिक विचार राख्न र त्यसअनुसारको गतिविधि गर्न स्वतन्त्र छिन्। कोही उनको विचारसँग सहमत/असहमत हुन सक्छ। यो पनि उनीहरूको स्वतन्त्रता हो। यो पंक्तिकार उनको यो विचारको मात्र हैन, अभिव्यक्ति स्वतन्त्रताको पनि पूर्ण सम्मान गर्छ। तर, विनम्रतापूर्वक उनको विचारप्रति असहमति राख्छ।

योसँगै अर्को महत्वपूर्ण पक्ष पनि छ, त्यो के भने जुन पुस्ताले मनिषालाई चिन्छ उसले वी पी कोइरालाकी नातिनी भनेरै चिन्छ, पछिल्लो पुस्ताले त उनलाई खासै चिन्दैन पनि। किनकि, क्यान्सरपछि उनको चलचित्र करिअर सकसबाट गुज्रिरहेकाले खासै चलचित्र आएका छैनन्। केही आएका पनि आमा चरित्रका छन् जसले उनलाई खासै स्टार भ्याल्यू दिएका छैनन्। 

समग्रमा मनिषाले राप्रपाको चुनावी क्याम्पेनमा सहभागी हुने घोषणा गरेर एक अप्रिय निर्णय लिएकी छिन्। उनको यो निर्णय उनका लागि सबै कोणबाट आत्मघाती नै हुनेछ। यसबाट फाइदा हुने भनेको  राप्रपालाई हो तर अपेक्षा गरेजति उसलाई पनि फाइदा हुनेवाला छैन। तर, एउटा कुराच के निश्चित हो भने कांग्रेसविरोधीहरूलाई एउटा टकिङ पोइन्ट भने मिलेको छ। अब उनीहरूले भन्नेछन्, देख्यौ वीपीकी नातिनीले त कांग्रेस छोडिन्। अझ राप्रपाका नेता तथा कार्यकर्ताले त मनिषाले राजेन्द्रलाई Young, dynamic and visionary leader भनेको भनेर नाक पनि फुलाउने छन्।  

जे भए पनि यो एक अनौठो घटना हो। समाचारको प्राथमिक परिभाषाले नै भन्छ, सबै अनौठा समाचार हुन्छन्। यो पनि त्यस्तै एक अनौठो घटना भएकाले यो समाचार हुनु र यसमाथि पक्ष विपक्षमा तर्क बितर्क हुनु पनि स्वभाविक हो। यो टिप्पणी पनि त्यही समयको सन्दर्भले जुराएको टिपोट हो।

प्रकाशित मिति: : 2022-11-11 07:45:00

प्रतिकृया दिनुहोस्