कर्णाली करिडोरको अवस्था बुझ्न विज्ञटोली स्थलगत अनुगमनमा हुम्लाको सलीसल्लासम्म पुगेर फिर्ता भएको छ।
यो टोलीको अनुगमन प्रतिवेदनका आधारमा सडकको थप सुधारको काम हुने भएको छ।
कर्णाली करिडोरका विभिन्न खण्डमा निर्माण हुँदै गरेको सडक तथा पुलपुलेसाको अवस्था के कस्तो छ भनेर सोको प्राविधिक अध्ययनका लागि प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्रप्रसाद थपलियाको नेतृत्वमा सडक विभाग पुल महाशाखाका वरिष्ठ इञ्जिनीयर अंगलाल रोकाया र इञ्जिनीयर लीलाबहादुर भण्डारीसहितको तीन सदस्यीय टोली उपस्थित रहेको छ।
सो टोलीले करिडोरको कालीकोटको खुलालुदेखि बाजुराको लैफु, हुम्लाको सलीसल्लासम्मको स्थलगत अनुगमन गरेको उक्त टोलीका सदस्य वरिष्ठ इञ्जिनीयर रोकायाले जानकारी दिए। हुम्लाको कबाडीदेखि सल्लीसल्लासम्मको सडकको लम्बाइ ३९ किलोमिटर छ।
यसमध्ये २७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ भने अब १२ किलोमिटर निर्माणधीन अवस्थामा छ।
बाजुरा र हुम्ला खण्डको काम राम्रो देखिएको छ भने कालीकोटमा पर्ने ४० किलोमिटर सडकलाई स्तरवृद्धि गर्नुपर्ने उक्त टोलीले जनाएको छ।
निकट भविष्यमा नेपाली सेनाले सो सडक विभागलाई बुझाएपछि मापदण्डअनुसार वैधानिकरुपमा बाटो इजाजत खुला हुने भएको छ। यसबाट हुम्लाका दक्षिण भेगका तीन गाउँपालिका सडक सञ्जालमाछिट्टै जोडिने भएका छन्। रासस