फिल्म रिभ्यू

‘ब्ल्याक प्यान्थर: वाकान्डा फरइभर’ अर्थात् राजा, राेग र समुन्द्रकाे कथा

एमसीयू (मार्वल सिनेमैटिक यूनिवर्स) को गत महिना रिलिज भएको हलिउड सिनेमा ‘ब्ल्याक प्यान्थर: वाकान्डा फरइभर’ले संसाभर तहल्का पिट्याे। सिनेमा निर्माण कम्पनीसँग तीतो यथार्थ छ। बेग्लै कथा छ। भावनात्मक गँठाे छ। एउटा सन्दर्भ नछुटाइ–भन्नुपर्दा पहिलाे श्रृंखलाका नायकको भूमिकामा अभिनय गर्ने अभिनेता चेड्विक बोसम्यानलाई श्रद्धान्जलि दिइएको छ।

अभिनेता बोसम्यानको २८ अगस्त २०२० मा क्यान्सर रोगबाट निधन भएको थियो। सिनेमा निर्माण कम्पनीले ‘ब्ल्याक प्यान्थर: वाकान्डा फरइभर’मा अन्य कलाकारको स्थानमा उनै बितिसकेका अभिनेताको दृश्य देखाएकाे छ। यो कुनै पनि कलाकारहरूको लागि गर्वको विषय हो।

सिनेमाको कथा अनुसार वकान्डाको राजा टी चाला (चेड्विक बोसम्यान) एउटा गम्भीर राेगसँग लड्दै बाँचिरहेका हुन्छन्।

राजाकी बहिनी सुरी (लेटिटिया राइट) र आमा क्वीन रमान्डा (एन्जेला बेसेट)ले राजालाई रोगबाट बचाउनका लागि सबै प्रयास गर्छन्। सफल हुन सक्दैनन्। पछिल्लो सिनेमामा टी चालाको काकाको छोराले वाइब्रेनियम नामको जडिबुटी आगो लगाएर खत्तम गरिदिएको थियो। तर टी चालाले यस्तो जडिबुटी सबैलाई बाँड्ने बचन दिएका कारण सुरीले एउटा प्रतिभाशाली विद्यार्थी रिरी (डोमेनिक थर्न)को सहयोगमा त्यो जडिबुटी कता छ भन्ने पत्ता लगाउन तल्लिन हुन्छिन्।

सिनेमा घुम्दै जाँदा सुरीको समूहलाई कुनै अज्ञात समूहले मारिदिन्छ। काेही पनि बच्दैनन्। उता समुन्द्रमा बस्ने अर्कै प्राणीको नेता नेमार (टेनोच हुएर्टा) भने त्यो जडिबुटी आफूसँग भएको तर कसैलाई नदिने कुरा गर्छ। वकान्डा युद्ध जितेर त्यो जडिबुटी प्राप्त गर्ने आशामा रहेको अमेरिका र नेमारको सेनासँग युद्ध गरेर जडिबुटी प्राप्त गर्ने चुनौती सुरीको काँधमा आइपुग्छ। के सुरीले युद्ध जितेर वाइब्रेनियम नामको जडिबुटी प्राप्त गर्न सक्छिन्? उनलाई कस्ता–कस्ता समस्यासँग लड्नुपर्छ? यो सबै थाहा पाउन सिनेमा नै हेर्नुपर्छ

निर्देशक रेयान कूगलरले करिब दुई घण्टा ४५ मिनेट लामो सिनेमामा दर्शकलाई बाध्न सफल भएका छन्। सिनेमामा तपाईं हास्नु हुन्छ। रूनुहुन्छ। अनि रोमान्चित पनि हुनुहुन्छ। निर्देशकले तपाईंलाई वकान्डा र समुन्द्रको काल्पनिक संसारमा लैजान्छन्। तपाईं त्यो संसार देखेर रोमान्चित हुनुहुनेछ। जसको श्रेय कला निर्देशक मार्ली आर्नोल्ड र उनको समूहलाई जान्छ।

फिल्ममा लुड्विग ग्रोन्सनको संगीत र अटुमनको छायाँकन उत्कृष्ट छ। समुन्द्र–भित्रको दृश्यले तपाईंलाई बढी रोमाञ्चित बनाउँछ। सबै कलाकारहरूको अभिनयबारे कुरा गर्दा टेनोच हुएर्टा र लेटिटिया राइटको अभिनय उत्कृष्ट छ भने अरू कलाकारहरूको अभिनय सामान्य छ। किनकि यो सिनेमामा अभिनय भन्दा प्रविधि निकैअघि छ। 

‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरइभर’को सिनेमाका पारखीहरूको लागि यो सिनेमाले निकै मनोरन्जन दिन्छ। पहिलोपटक यो सिनेमा हेर्ने दर्शकहरूलाई कथाले अलमल पार्न सक्छ।

प्रकाशित मिति: : 2022-12-07 19:48:00

प्रतिकृया दिनुहोस्