कहाँ हराउँछन् बालबालिका ?

 पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन्। साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ। ९ सय ९५ जना भेटिएका छैनन्। यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए।

२ सय २१ बालक र ७ सय ७२ बालिका खोजी गरी परिवारमा पुनर्मिलन गराइएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए। हराएकामध्ये धेरै बालिका रहेको जनाइएको छ। पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि धेरै बालबालिका भेटिएको देखिँदैन।

परिषद्अन्तर्गतको बालबालिका खोसतलास समन्वय केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले साथीको लहैलहैमा लागेर सहर छिरेर हराउने गरेको पाइएको बताए। आर्थिक अवस्था, घरायसीलगायत कारणले बालबालिका घर छाडेर हिँडेपछि हराएका घटना धेरै भेटिएको अधिकारीको भनाइ छ। अधिकारीका अनुसार सन्तान हराएपछि आत्तिएर अभिभावक प्रहरीमा उजुरी गर्छन्। 

अलि–अलि बोकेर ल्याएको पैसा सकिन्छ अनि उनीहरू बेवारिसे हुन्छन्। त्यसरी हिँडेका कतिपय सडकमा भेटिन्छन्। कतिपय होटललगायत ठाउँमा मजदुरी गरिरहेका हुन्छन्। काठमाडौंको हकमा धेरै बालबालिका पशुपतिनाथ मन्दिर वरिपरि भेटिन्छन्। अन्य सहरमा पनि मन्दिरमै भेटिन्छन्। हराएका अधिकांश बालबालिका जोखिमयुक्त अवस्थामै भेटिने गरेको अधिकारीले सुनाए। कोही भने आफन्तका घरमा पनि भेटिने गरेका छन्।

प्रहरी र परिषद्ले गरेको अनुगमनमा बिहीबार मात्रै ९ बालबालिकाको उद्धार गरिएको छ। कलंकी, सातदोबाटोलगायत व्यस्त बजारमा मागिरहेका र पानी, खानेकुरा बेचिरहेको अवस्थामा उनीहरूलाई उद्धार गरिएको अधिकारीले बताए। यीमध्ये एक बालिका र आठ बालक छन्। 

प्रकाशित मिति: : 2021-03-19 07:50:00

प्रतिकृया दिनुहोस्