त्रिभुवन विद्याश्रम पुनः पठनपाठन शुरु

चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ।

लमजुङ क्व्होलासोथर गाउँपालिका-४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो।विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गुरुङले भने, “विद्यालयमै रहेको अवस्थामा चट्याङ लागेर विद्यार्थीको मृत्यु र केही घाइते भएपछि बुधबार क्व्होलासोथर गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालयका शिक्षकलगायतको बैठक बसेर बुधबार बन्द गरिएको र बिहीबार विद्यालयले शोक मनाएकाले बन्द भएकामा आजदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ।” विद्यालय सञ्चालनमा आए पनि थोरै विद्यार्थी मात्र उपस्थित भएको उनको भनाइ छ। 

विद्यालयमा विद्यार्थी रहेकै बेला चट्याङ पर्दा तीन विद्यार्थी गम्भीर घाइते भएका थिए। घाइतेपश्चात् हेलिकप्टरमा उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि पुर्याइएपनि कक्षा १० मा अध्ययनरत १७ वर्षीय विनोद विकको मृत्यु भएको थियो।

गम्भीर घाइते छविन्द्र गुरुङ र अंशु गुरुङ उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रधानाध्यापक गुरुङको भनाइ छ। विसं २०५२ मा स्थापना भएको यस विद्यालयमा हाल २६६ विद्यार्थी रहेको विद्यालयले जनाएको छ।  रासस

प्रकाशित मिति: : 2021-03-19 16:10:00

प्रतिकृया दिनुहोस्