४ सन्तानसहित कर्णालीमा हेलिएकी सुकीका श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता

फाइल तस्वीर
फाइल तस्वीर

गएको फागुन २३ मा चार सन्तानसहित कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिकाकी मृतक सुकीका श्रीमानलाई आत्महत्या दुरुत्साहन मुद्धा चलाइएको छ।

जिल्ला प्रहरी कार्यालयले मुद्धा जाहेरी दरखास्त बमोजिम आठविस नगरपालिका ३ निमाईलका ४३ बर्षीय मानसिंह बडुवालविरूद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको हो।

वडुवालाई ज्यान सम्बन्धि कसुर (आत्महत्या दुरुत्साहन) मुद्धा जाहेरी दरखास्त बमोजिम चैत्र ६ गते पक्राउ गरी मुद्दा चलाइएको हो।

मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरेर दैलेख प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको बताएको छ।

मानसिंहकी ३५ वर्षीया सुकी, १४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी र १० वर्षीय ललितलाई लिएर कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी थिइन्।

नदीमा हेलिएको सुकीको पेटमा चार महिनाको बच्चा समेत रहेको पोष्टमार्टममा देखिएको थियो।

सुकीले चार सन्तानसहित नदीमा हामफाल्नु गरिबी, श्रीमानले गर्ने हिंसा नै प्रमुख कारण बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मानसिंह दिनहुँ मदिरा पिएर सुकीलाई यातना दिएकै कारण नदीमा हेलिएकी हुन्। आफु पाएको पिडा नै छोराछोरीले दुख पाउने देखिएपछि चार सन्तान लिएर हाम फालेको देखिन्छ।

मदिरा सेवन गरेर बारम्बार कुटपिट गरेकै कारण बाध्य भएर आत्महत्या गरेको देखिएपछि मानसिंहविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए।

सुकी निमाईलबाट २ घण्टा हिडेर चार सन्तान सहित कर्णाली नदीमा हेलिएकी थिइन्। मृतक चार जनाको शव पञ्चदेवल नगरपालिका–४ स्थित बेलखेत भेटिएको थियो भने रजनीको शव १० दिनपछि अछामको तुर्माखाँद गाउँपालिकाको असाराघाटमा फेला परेको थियो।

चार छोराछोरीसहित कर्णाली नदीमा अस्ताएकी बडुवालको नियमाईल गाउँ अझै पनि डरत्रासमा छ। गाउँका स्थानीयबासी भने,सुकी आत्महत्या गर्नुको मुख्य कारण मदिरा र घरेलु हिंसा भएको बताउँछन्।

श्रीमानले मदिरा सेवन गरेपछि श्रीमतीसहित बालबालिकालाई कुटपिट गर्न हुँदा आफुले मर्ने योजना बनाएपछि बालबालिकालाई चाउचाउ खुवाउदै फकाउँदै हात बाँधेको पहिला छोरीलाई धकलेपछि छोरासहित आफुले हाम फालेको हुनसक्ने केही स्थानीयबासीको अनुमान छ।

तर सोही ठाउँकी अर्की एक महिलाले भनिन्, ‘सन्तानलाई पहिला मारेर आमा पछि मर्ने सक्दैन, बरु बचाउन खोज्छन्। यसको बारे अनुसन्धान हुनुपर्छ’, उनले भनिन्।

सुकीको मृत्युपछि शोकमग्न बनेको निमायल बस्ती उजाड जस्तै देखिन्छ। उनको घरका सबै कोठा ताला लगाएर बन्द गरिएका छन्। घरमा फालिका पशुचौपाया भोकभोकै छन्। 

प्रकाशित मिति: : 2021-03-25 12:53:00

प्रतिकृया दिनुहोस्