कोरोना सङ्क्रमणका कारण झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ।
कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिए।
केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर गएकी ती महिला उतै बिरामी परको बताइएको छ।
शुरुमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरीएको थियो।
अस्पतालमा भर्ना भए लगत्तै भएको कोरोना परीक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।
भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको आज बिहान अस्पतालमै निधन भएको जनाइएको छ।
मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितीमा कनकाई घाटमा अन्त्यष्टि गरेको छ। रासस