कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा श्ययासहितको आइसियुको व्यवस्था गर्ने निर्णय गरेको छ।
भारतलगायत देशहरुमा पुनः कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न जाने भएकाले कोरोना नियन्त्रण गर्न प्रदेश प्रवेशद्वार जाँचको व्यवस्थाका लागि बैठकले यो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिए।
“रोजगारीका लागि भारत गएका नागरिकहरु दिनप्रतिदिन नेपाल फर्कंदैछन्”, प्रवक्ता केसीले भने, “घर फर्कने नागरिकको मोबाइल नम्बर, स्पष्ट ठेगानाको अभिलेख राखी उपलब्ध गराउने व्यवस्थाका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई समन्वयात्मक निर्देशन गरिएको छ।”
सामाजिक विकास मन्त्रालयले ‘कोभिड–१९’ सङ्क्रमणसम्बन्धी जानकारी आदानप्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने निर्णय भएको उनले बताए।
बैठकले सार्वजनिक यातायातमा सवार यात्रुहरुलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउन बस व्यवसायीहरुलाई अनुरोध गर्ने व्यवस्था सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुले मिलाउने, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनासम्बन्धी व्यापक प्रचारप्रसार गर्ने र प्रवेश नाकामा ‘कोभिड–१९’ को लक्षण देखिएका व्यक्तिलाई अनिवार्य होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको मन्त्रीले केसीले जनाए। रासस