वायु प्रदूषण हट्न केही दिन लाग्ने, जोगिन के गर्ने ? 

कमल प्रभात

काठमाडौं
Photo - Rss
Photo - Rss

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरुमा धुलो, धुवाँ र तुवाँलोले ढाकेको छ।

कतिपयमा आँखा पोल्ने, टाउको दुख्ने तथा ज्वरो आउने समस्या देखिन थालेको छ। जल तथा मौसम विज्ञान विभागले वायु प्रदूषण उच्च भएको कारण यस्तो भएको बताएको छ।

विभागका अनुसार रियल टाइम एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३ सय बढी पुगेको छ। ३ सय बढी पुग्नु उच्च जोखिम हो।

विभागले ज्यादै न्यून वर्षा भई वायुमण्ड सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न स्थानमा तुवाँलो लाग्नु सामान्य भएपनि चैत १३ गतेदेखि देशका धेरै स्थनामा असामान्य प्रकारको तुवाँलो लागेको उल्लेख गरेको छ।


अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै

हिजोदेखि काठमाडौँको आकाश धुम्म, स्वाथ्य मान्त्रालयले जारी गर्यो पाँच बुँदे अपिल पत्र (पत्रसहित)


हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो।

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ।

यो अवस्था अझै केही दिन कायम रहन सक्ने भन्दै विभागले सावधानी अपनाउन अनुरोध गरेको छ।

विभागले वायु प्रदूषणका कारण स्वास्थ्यमा समस्या देखा पर्ने भन्दै केही दिन बाहिर ननिस्कन भनेको छ। बाहिर निस्कनै परेमा मास्क तथा चस्माले प्रयोग गर्न विभागले सुझाव दिएको छ।

विशेष गरी वायु प्रदूषणबाट बच्न मास्क लगाउनु पर्ने, सकभर बाहिर निस्कन नहुने, चस्मा लगाउनु पर्ने, आगो बाल्न नहुने, सवारी साधन कम चलाउनु पर्ने तथा मर्निङ वाकमा निस्कन नहुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा.युवराज शर्मा बताउँछन्।

‘अहिले सामान्य असर देखा परेपनि यसले दीर्घकालिन रोग निम्तिन सक्ने हुँदा स्वास्थ्य सावधानी अपनाउनु पर्छ’, शर्माले बिएल नेपाली सेवासँग भने।

‘अहिलेको प्रदूषणले गर्दा मानिसमा भविष्यमा फोक्सोको तथा अन्य ठाउँको क्यान्सरको प्रकोप हुन सक्छ’, उनले भने।

हवाई सेवा प्रभावित
तुवाँलोको कारण देशका विभिन्न विमानस्थलमा दर्जनौं उडान रद्द भएका छन्। आइतबार बिहानदेखि विभिन्न जिल्लामा दृश्य क्षमता नपुग्दा हवाई सेवा प्रभावित भएका हुन्। विशेष गरी हिमाली क्षेत्रमा हवाई सेवा बन्द भएका छन्।

शैक्षिक सेवा प्रभावित
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले मंगलबारदेखि चार दिनका लागि सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयले विधार्थीमा हुन सक्ने प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गरको हो।

मौसम सुधार हुन केही दिन लाग्ने
जल तथा मौसम विज्ञान विभागले यो अवस्थमा सुधार आउन अझै केही दिन लाग्ने बताएको छ।

अहिलेको प्रदुषण हट्नको लागि पानी पर्नुपर्ने वा हावा चल्नुपर्ने मौषमविद् बताउँछन्। तर काठमाडौं उपत्यकामा तत्काल पानी पर्ने सम्भावना नरहेको मौसम विभागले बताएको छ। 


मौसम खराबीले सयौँ उडान प्रभावित

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित


 

प्रकाशित मिति: : 2021-03-30 17:50:00

प्रतिकृया दिनुहोस्