सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेशसभाका १० बैठकमा लगातार उपस्थित हुन नसक्नुका कारण जानकारी गराउनेसम्बन्धी सूचनाको प्रस्तावलाई प्रदेशसभाको बैठकले स्वीकृत गरेको छ।
प्रदेशसभाको बैठकमा आज सभामुख अर्जुनबहादुर थापाले ‘सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली २०७४’ बमोजिम उक्त प्रस्ताव पेश गर्दा
बैठकले स्वीकृत गरेको हो।
प्रदेशसभा नियमावलीमा कुनै सदस्य लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित रहनुपर्ने भएमा तत्सम्बन्धी अग्रीम सूचना सभामुखलाई दिनुपर्ने, सूचनामा अनुपस्थित रहने अवधि र कारण उल्लेख गर्नुपर्ने र यस्तो सूचनालाई सभाको स्वीकृतिको निमित्त सभामुखले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
बैठकमा सभामुख थापाले प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तबाट ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको जानकारी गराए।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले छुट्टाछुट्टै रुपमा ‘सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ र ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरे।
यसअघि बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रदेशसभा सदस्य उमाकुमारी बादीले कञ्चनपुरको दोधारा चाँदनीका वादी समुदायका परिवारको भोगचलनमा रहेको ऐलानी जग्गा स्थानीय विद्यालय र सशस्त्र प्रहरी बलले कब्जा गर्दा बादी समुदायको बिचल्ली भएको भन्दै उनीहरूको उचित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण गराए। रासस