कोरिडोरको सवारी व्यवस्थापन गर्न ट्राफिकले खटायो ‘सिएमटी’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि आजदेखि छुट्टै ट्राफिक टोली परिचालन गरेको छ।

कोरिडोर क्षेत्रका सडक प्रयोग बढाउँदै मुख्य सडक क्षेत्रमा जाम कम गर्ने लक्ष्यसहित ‘कोरिडोर म्यानेजमेन्ट टिम’ (सिएमटी) परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए। 

महाशाखाले आज एक समारोहबीच उक्त टोलीलाई ट्राफिक ज्याकेट हस्तान्तरण गर्दै तोकिएको क्षेत्रमा खटिने गरी परिचालन गरेको छ। कोरिडोरको ट्राफिक व्यवस्थापन १५ समूहमा ३० जना प्रहरी खटाइएको छ।

कोरिडोर सडक प्रयोग बढाउँदा मुख्य रुटमा सवारीसाधनको चाप कम हुने हुँदा जाम घट्ने आशा लिइएको भट्टराईले बताए। 

पछिल्ला समयमा ट्राफिक व्यवस्थापन फितलो बन्दै गएको जनगुनासो बढ्दै गएको छ। यसअघि सञ्चालन भएका कतिपय ट्रापिक सम्बन्धीका कार्यक्रम रोकिएका छन् भने विगतकै अभियानको निरन्तरतास्वरुप बेलाबेलामा स्वयंसेवक परिचालन गरिएको बाहेक नयाँ कार्यक्रम खासै देखिएको छैन।

यद्यपि आज भने महाशाखाले कोरिडोर व्यवस्थापन समूह खटाएर एउटा नयाँ कार्यक्रमको थालनी गरेको छ। महाशाखा प्रमुख भट्टराईले उक्त समूहले कोरिडोरमा नखुलेको बाटो खुलाउने, अव्यवस्थितलाई व्यवस्थित बनाउने र आवागमन सहज बनाउनमा ती प्रहरीको जिम्मेवारी रहने जानकारी दिए।

प्रकाशित मिति: : 2021-03-31 18:36:00

प्रतिकृया दिनुहोस्