काेराेना महामारी:

ठमेलका व्यापारीकाे दु:ख: दिनभर कुर्दा पनि व्यापार शून्य

विश्वव्यापी रूपमा फैलिएकाे काेराेनाभाइरस संक्रमणले विश्वका अधिकांश देशलाई प्रभावित पारेकाे छ। नेपाल पनि काेराेनाबाट अछुताे रहेन।

पछिल्लो समय देशभर सङक्रमितको सङख्या बढिरहेको छ। जसकारण अहिले मानिसको भीड पनि कम हुँदै गइरहेको छ। 

त्यसको असरले पर्यटकहरुले भरिभाउ हुने ठमेल सुनसान बनेकोे छ। कोरोनाको त्राश अघि मान्छेको चहलपहल हुने ठमेलमा अहिले सन्नाटा छाएको छ।

कोरोनाको डर बढेसँगै ठमेलमा विगतका दिनहरुमा झैँ व्यापार हुन छाडेको त्यहाँका व्यापारीहरुको भनाई छ।

‘रग अफ ओरिजिनल’ नामक पसल ३० वर्षदेखि सञ्चालन गर्दै आइरहेका युसुफ आजभोलि फुर्सदिला बनेका छन्।

उनी पहिला काश्मिरी प्रोडक्ट बेच्नमा व्यस्त हुन्थे। तर, अहिले उनी अस्तव्यस्त बनेका छन्। ‘कोरोनाको डरसँगै व्यापार स्वाट्टै घटेको छ’, उनले बिएल नेपाली सेवासँग भने, ‘व्यापारले घर खर्च चलाउन पनि मुश्किल भइरहेको छ।’

त्यस्तै सागर राईले ‘सागा आउटडोर स्टोर’ चलाएको १३ वर्ष बित्यो। उनी आजकल आफ्नो व्यापारका कारण निकै दुखी छन्।

विगतका दिनमा लाखौँसम्मको व्यापार गर्ने उनी सयमा झरेका छन्। आफ्नो व्यापार नाजुक रहेको बताउँदै उनी भन्छन्, ‘मान्छे नै घटिसकेका छन्, व्यापार पनि छैन।’

बहान ६ बजेदेखि रातको १२ बजेसम्म पुरै व्यस्त रहने ‘फेमिली ट्रेकिङ सप’ की सञ्चालिका ४० वर्षीया जानुका राई पनि हिजोआज निराश छिन्।

कोरोना भाइरसकै त्रासले पर्यटक नहुँदा पसल सुनसान भएको उनले बताइन्। ‘कोरोनाको त्रासले पर्यटकहरू नेपाल भित्रिएका छैनन्,  जसले गर्दा व्यापारमा नोक्सान भएको छ,’ उनले भनिन्।

पर्यटकलाई लक्षित गरेर खोलेको उनको पसलमा पर्यटकहरू नै नआएपछि ठप्प छ। ‘पहिले त दिनकै डेढ लाखसम्मको व्यापार हुन्थ्यो, ‘अहिले त व्यापारै छैन’, उनी भन्छिन्।

‘पसलमा आउने अधिकांश ग्राहक विदेशी नै हुन्छन्। तर, अहिले विदेशी एकजना पनि छिर्दैनन्। अनि कसरी बिक्री हुन्छ?’, ‘मनाङ ह्यान्डीक्याफ्ट कलेक्शन सेन्टर’ का व्यापारी तेन्जीङ गुरुङले भने।

प्रकाशित मिति: : 2022-02-02 17:40:00

प्रतिकृया दिनुहोस्