समृद्ध नेपाल निर्माणका लागि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गर्न सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। 

आज गृह मन्त्रालयमा आव २०७७/७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताएका हुन्। 

गृहमन्त्री थापाले सुरक्षा क्षेत्रमा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको बताए। उनले भने, “तथ्याङ्कले सीमामा बिओपीको सङ्ख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ। यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ।”

मन्त्री थापाले गृहमन्त्रालय र सोअन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको उल्लेख गर्दै कार्यशैली परिमार्जन गरेर भएपनि ठोस उपलब्धि ल्याउन कर्मचारीलाई निर्देशन दिए। 

प्रकाशित मिति: : 2021-03-31 21:36:00

प्रतिकृया दिनुहोस्